काठमाडौं । फिफा विश्वकप छनोटमा नेदरल्यान्ड्स बराबरीमा रोकिएको छ ।
युरोपियन छनोट अन्तर्गत शनिबार राति नेदरल्यान्ड्सले मोन्टेनेग्रोसँग २-२ गोलको बराबरी खेलेको हो ।
सुरुआती दुई गोलको अग्रता जोगाउन नसक्दा नेदरल्यान्ड्स बराबरीमा रोकिएको हो ।
खेलको ३५ औं मिनेटमा मेम्फिस डिपेले पेनाल्टीमा गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए ।
खेलको ५४ औं मिनेटमा डिपेले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता २-० को बनाए ।
तर, खेलको ८२ औं मिनेटमा लिजा भुकोटिकले गोल गर्दै मोन्टेनेग्रोलाई २-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ८६ औं मिनेटमा निकोला भुज्नोभिकले गोल गर्दै मोन्टेनेग्रोलाई २-२ को बराबरीमा ल्याएका थिए ।
यस बराबरीसँगै नेदरल्यान्ड्सले ९ खेलमा २० अंक जोडेको छ ।
नेदरल्यान्ड्स समूह जीको शीर्ष स्थानमा रहेको छ ।
नेदरल्यान्ड्सले समूह चरणको अन्तिम खेलमा नर्वेको सामना गर्नेछ ।
मोन्टेनेग्रो १२ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।