काठमाडौं । बेल्जियम सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा छनोट भएको छ ।
युरोपियन छनोट अन्तर्गत शनिबार राति इस्टोनियालाई ३-१ गोल अन्तरले पराजित गर्दै बेल्जियमले विश्वकपमा स्थान पक्का गरेको हो ।
खेलको ११ औं मिनेटमा क्रिस्टियन बेन्टेकेले गोल गर्दै बेल्जियमलाई सुरुआती अग्रता दिलाएका थिए ।
५३ औं मिनेटमा यान्निक कारास्कोले गोल गर्दै बेल्जियमको अग्रता २-० को बनाए ।
खेलको ७० औं मिनेटमा इरिक सोर्गाले गोल गर्दै इस्टोनियालाई २-१ को स्थितिमा ल्याए ।
तर, खेलको ७४ औं मिनेटमा थोर्गन हाजार्डले गोल गर्दै बेल्जियमलाई ३-१ को जित दिलाए ।

यस जितसँगै बेल्जियमले एक खेल अगाबै विश्वकपमा स्थान पक्का गरेको हो ।
समूह ई को बेल्जियमले ७ खेलमा १९ अंक जोडेको छ ।
अब बेल्जियमले छनोटको अन्तिम खेलमा वेल्सको सामना गर्नेछ ।
इस्टोनिया ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
यसै समूहको अर्को खेलमा वेल्सले बेलारुसलाई ५-१ ले हराएको छ ।