काठमाडौं । साविक विजेता फ्रान्सले सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपमा स्थान पक्का गरेको छ ।
युरोपियन छनोट अन्तर्गत शनिबार राति कजाकिस्तानलाई ८-० ले हराउँदै फ्रान्सले विश्वकपमा स्थान पक्का गरेको हो ।
फ्रान्सलाई जित दिलाउन केलियन एमबाप्पेले ह्याट्रिकसहित ४ गोल गरे ।
खेलको छैटौं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए ।
१२ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता २-० को बनाए ।
खेलको ३२ औं मिनेटमा एमबाप्पेले ह्याट्रिक पूरा गर्दा फ्रान्सको अग्रता तेब्बर बन्यो । फ्रान्सका लागि एमबाप्पेको यो पहिलो ह्याट्रिक हो ।

५५ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै फ्रान्सलाई ४-० को अग्रता दिलाए ।
५९ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्स ५-० ले अघि रह्यो ।
खेलको ७५ औं मिनेटमा एड्रिन रोबिटले गोल गर्दा फ्रान्स ६-० ले अघि रह्यो ।
८४ औं मिनेटमा एन्टोनी ग्रीजम्यानले गोल गर्दै फ्रान्सलाई ७-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ८७ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत चौंथो गोल गर्दै फ्रान्सलाई ८-० को जित दिलाए ।
यस जितसँगै समूह डी को फ्रान्सले ७ खेलमा १५ अंक जोडेको छ । फ्रान्स शीर्ष स्थानमा रहेको छ ।
कजाकिस्तान ३ अंक जोडेर समूहको पुछारमा रहेको छ ।
