किन मान्छन्, म्यागुएर आलोचना सुन्न चाहँदैनन्

एजेन्सी ।
रोय किनलाई चित्त बुझेन भने कोही कसैको आलोचना गर्न कहिल्यै पछाडि पर्दैनन् ।
जत्तिकै ठूला स्टार भए पनि उनलाई मतलब हुन्न ।
यस्तोमा उनका लागि म्यानचेस्टर युनाइटेडका कप्तान ह्यारी म्यागुएर के नै हुन् र ?
म्यागुएरले हालै इंग्ल्यान्डका लागि गोल गरेका छन्, अल्बानियाविरुद्धको खेलमा । त्यसको खुसीयाली मनाउने क्रममा उनले आफ्ना दुवै कान बन्द गरे ।
अब यसको अर्थ के त ?
किन मात्र होइन्, अरूलाई पनि लागेको छ, म्यागुएरले यस क्रममा भन्न खोजेका छन्, आलोचकले जे जस्तै भने पनि मतलब छैन ।
यस्तोमा आफै म्यानचेस्टरका पूर्व कप्तान रहेका किनले भनेका छन्, ‘उनले जुन किसिमले खुसीयाली मनाएका छन्, त्यो निकै लाजमर्दो छ ।’
म्यागुएरले लामो समययता म्यानचेस्टरका लागि राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन् । अझ भन्दा उनको प्रदर्शन तल्लो स्तरको छ ।
म्यानचेस्टरले खेलेका पछिल्ला छ खेलमा टिमले एकै जित मात्र निकालेको छ । त्यसैले उनको आलोचना हुने भयो नै । अझ त्यसमाथि म्यागुएरका सबैभन्दा ठूला आलोचक हुन्, तिनै किन ।
उनलाई लाग्छ, म्यागुएरको अहिलेको खेल म्यानचेस्टर टिममा रहनका लागि योग्य छैन ।
उनी भन्छन्, ‘म्यानेस्टरका लागि म्यागुएरका पछिल्ला प्रदर्शन निकै खराव रहेको छ । यदी इंग्ल्यान्डका लागि गोल गरेर उनले आफ्ना आलोचकलाई चुप बनाएको सोचेका छन् भने त्यो दुर्भाग्यपूर्ण छ ।’
बेलायती मिडियाले किनको आरोपबारेमा म्यागुएरलाई प्रश्न पनि गरे ।
यसमा म्यागुएरको उत्तर रहेको छ, ‘त्यो खुसीयाली कोहीविरुद्ध लक्षित थिएन ।’
–मार्काको सहयोगमा ।