काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार एन्फा कम्प्लेम्समा गौरीगंगाले टाइब्रेकरमा इलामको रोङलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।
निर्धारित समयमा दुवै टिमबाट १–१ गोल भएपछि निर्णय टाइब्रेकरमा भएको हो ।
खेलमा सुरुवाती अग्रता रोङले लिएको थियो । २६ औ मिनेटमा रोङकी कप्तान अनिता राईले गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् ।
खेलको ६८ औ मिनेटमा गौरीगंगाकी तुलसा बोहराले खेल बराबरीमा ल्याइन् ।
त्यसपछि खेलमा दुवै टिमबाट गोल भएन ।
दुवै टोलीबाट नेपाली राष्ट्रिय टोलीका केही खेलाडीहरु सहभागि थिए । यसअघि प्रि–क्वाटरफाइनलमा तुलसीपुर उपमहानगरपालिका माथि ४–१ गोल अन्तरको जित निकाल्दै रोङ क्वाटरफाइनल प्रवेश गरेको थियो ।
कुल १० टोली सहभागी नकआउटको बिजेता र उपविजेताले उपमेयर महिला लिगमा सहभागिताको अवसर पाउने छ ।
प्रतियोगितामा ३ विभागीय टोलीसंगै विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका, वालिङ नगरपालिकासंग प्रतिस्पर्धा गर्न पाउने छ ।
छनौट चरणको प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छन् ।
यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान २०÷२० हजार पाउने छन् ।