एजेन्सी ।
हिजो मंगलबार मात्रै हो, ज्याभीले बार्सिलोनाका मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेको । त्यसको पनि एक दिन अगाडि उनलाई क्याम्प नुमा प्रस्तुत गरिएको थियो ।
यसअघिका प्रशिक्षक रोनाल्ड कोमन वर्खास्तीमा परेपछि बार्सिलोनाले जाभीलाई कतारबाट झिकाइएको थियो ।
जाभी आएयताको बार्सिलोनाको पहिलो अभ्यास सत्रमा धेरै खेलाडी पनि थिएनन् ।
एक त इन्टरनेसनल ब्रेक चलिरहेको छ, त्यसमाथि केही खेलाडी घाइते छन् ।
अभ्यासमा कम खेलाडी भए पनि उनले पहिलो अभ्यास सत्र राख्न बिर्सेनन् र यसलाई आफ्ना खेलाडीलाई मनको कुरा भन्ने अवसरका रूपमा पनि सदुपयोग गरे ।
खेलाडीलाई जम्मा गरेर उनले भने, ‘खेलाडीले सबैभन्दा पहिले आफूमा विश्वास गर्नु पर्छ ।’
त्यसपछि उनले सेल्भा भिगोविरुद्धको खेललाई लिएर चर्चा सुरु गरे । त्यसमा बार्सिलोनाले तीन गोलको अग्रत लिएर पनि अन्तत: ३–३ को बराबरीमा चित्त बुझाएको थियो ।
त्यसैले उनले भने, ‘सेल्टा भिगोमा जे भयो, त्यो ठीक भएन । पहिलो हाफमा तीन गोलले अग्रता रहेर पनि पछि खेल बराबरीमा टुंगिन्छ भने त्यो पक्कै ठीक भएन ।’
यति भनेपछि जाभीले आफ्ना खेलाडीलाई बार्सिलोनासँग आवद्ध हुन पाएकोमा गर्व हुन पनि भने ।
उनले थपे, ‘खेलाडीले खेलाडीकै जस्तो जीवनशैली बिताउनु पर्छ । बार्सिलोनामा सबैभन्दा ठूलो टिम भावना हो । त्यसैले खेलाडीले सक्दो सँगसँगै समय बिताउ । सके, ब्रेकफास्ट र लन्च पनि सँगसँगै गर ।’
–मार्काको सहयोगमा ।