काठमाडौं । कोलम्बियाका स्ट्राइकर राडामेल फाल्काओ र डिफेन्डर ओस्कार मुरिलोले फिफा विश्वकप छनोटको खेल गुमाउने भएका छन् ।
फाल्काओ र मुरिलोले ब्राजिल र पाराग्वेविरुद्धको खेल गुमाउने कोलम्बियन फुटबल फेडरेसनले जनाएको छ ।
फाल्काओ करिब एक महिना मैदान बाहिर रहने बताइएको छ । उनले स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको खेलमा रायो भालेकानोका लागि रियल म्याड्रिडविरुद्ध खेल्दा घाइते भएका थिए ।
रायो भालेकानो सो खेलमा २–१ ले पराजय भोगेको थियो ।
त्यसैगरी मुरिलो मेक्सिकोको लिगा एमएक्समा पाचुकाका लागि क्लब टिजुआनाविरुद्ध खेल्दा घाइते भएका थिए । शनिबार नै भएको सो खेलमा पाचुका ३–२ ले पराजित भएको थियो ।
तर उनीहरुको स्थानमा आउने खेलाडीहरुको नाम सार्वजनिक गरिएको छैन ।
विश्वकप छनोट अन्तर्गत कोलम्बियाले बिहिबार ब्राजिल तथा पाँच दिनपछि पाराग्वेविरुद्ध खेल्ने तालिका रहेको छ ।