एजेन्सी । न्युक्यासल युनाइटेडले एडी होवेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
साउदी अरेबियाले क्लबको स्वामित्व किनेपछि स्टीव ब्रुसलाई बर्खास्त गरेको न्युक्यासलले होवेलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
होवेले सन् २०२४ सम्मका लागि क्लबसँग सम्झौता गरेका छन् । सन् २०२० को अगष्टमा बर्नेमाउथ रेलिगेशनमा गएपछि उनले क्लब छाडेका थिए ।
‘यो निकै राम्रो अवसर हो । तर हाम्रा अघि निकै धेरै कामहरु छन् ।’ उनले भनेका छन् ।
न्युक्यासल अहिले तालिकाको १९ औं स्थानमा रहेको छ । क्लबले मात्र ५ अंक जोडेको छ । क्लबले लिगको ११ खेल पुरा गरेको छ ।
गत शनिबार मात्र न्युक्यासलले ब्राइटोनसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
‘म खेलाडीसँग काम सुरु गर्नका लागि अभ्यास मैदानमा जानका लागि उत्साहीत छु ।’ उनले थपे ।
न्युक्यासलले उनाइ इम्रीलाई क्लबको मुख्य प्रशिक्षकमा प्रस्ताव गरेको थियो । तर क्लबको स्पष्ट भिजन नभएको भन्दै उनले प्रस्तावलाई अस्विकार गरेका थिए ।