काठमाडौं । स्पेनिस फुटबल क्लब बार्सिलोनाले जाभी हर्नान्डेजलाई हजारौ दर्शकमाझ नयाँ मुख्य प्रशिक्षकको रुपमा सार्वजनिक गरेको छ ।
नोउ क्याम्पमा सोमबार बार्सिलोनाले मैदानमा उपस्थित हजारौ समर्थकमाझ जाभीलाई प्रस्तुत गरेको हो ।
४१ वर्षीय जाभीले बार्सिलोनासँग सन् २०२४ सम्मका लागि सम्झौता हस्ताक्षर गरेका छन् ।
मैदानमा जाभी क्लबका अध्यक्ष जोआन लापोर्तासँगै देखिएका थिए ।
जाभीले कतारी क्लब अल–साद छाडेर बार्सिलोना आएका हुन् ।
जाभीले खेलाडीको रुपमा बार्सिलोनाका लागि १७ वर्ष खेलेका थिए ।
सन् २०१५ मा बार्सिलोना छाडेका जाभीले क्लबलाई आठ पटक स्पेनिस ला लिगा तथा चार पटक च्याम्पियन्स लिगको उपाधि जिताएका थिए ।
उनले स्पेनलाई सन् २०१० मा विश्वकपको उपाधि दिलाउनुका साथै दुई पटक युरोपियन च्याम्पियनसिप समेत जिताएका थिए ।
जाभी विगत दुई वर्षदेखि मध्य–पूर्वमा आफ्नो प्रशिक्षणको कला निखार्दै आएका थिए ।