काठमाडौं । मेघराज केसी ए डिभिजन क्लब सातदोबाटो युथको मुख्य प्रशिक्षक बन्ने भएका छन् ।
यसै सिजन ए डिभिजनमा बढुवा भएको सातदोबाटो युथलाई मेघराजले सम्हाल्ने पक्का भएको हो ।
सातदोबाटो ए डिभिजनमा बढुवा हुने बित्तिकै मेघराजले खेलाडी अनुबन्धदेखि लिग तयारीका लागि आवश्यक सहयोग गर्दै आएका थिए ।
ललितपुरे क्लब सातदोबाटोले मुख्य प्रशिक्षकको जिम्मेवारी लिनका लागि मेघराजलाई प्रस्ताव राख्दै आएकाे थियो ।
नयाँ सिजन सुरु हुने संघारमा मेघराजले ए डिभिजनको नव प्रवेशी क्लबको मुख्य प्रशिक्षकको जिम्मेवारी लिन सहमती जनाएका छन् ।
सातदोबाटोले सोमबार मेघराजसँग औपचारिक सम्झौता गर्ने तय भएको छ । क्लब स्रोतका अनुसार मेघराजले सातदोबाटोसँग एक वर्षको सम्झौता गर्नेछन् ।
‘नयाँ चुनौती सुरु स्विकार गर्ने निर्णय गरेको छु ।’ मेघराजले खेलपाटीसँग भने, ‘ए डिभिजनमा लामो समय काम गरिसके । अब सातदोबाटो बीबाट एमा आएको टिम हो । शुन्यबाट सुरु गर्न पर्छ । मेहनत गरेर कति माथिसम्म लान सकिन्छ भनेर चुनौती लिएको हुँ ।’
मेघराजले सहिद स्मारक लिगमा पछिल्लो पटक थ्री स्टार क्लबको जिम्मेवारीमा थिए । क्लब फुटबलबाट बिदा लिने मनसायका साथ उनले थ्री स्टार छाडेका थिए ।
कोभिड–१९ को महामारी सुरु भएपछि मेघराजको एकेडेमी सञ्चालन गर्ने योजनाले मुर्तरुप पाउन सकेन । कोभिडकै समयमा सुरु भएको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल)मा उनी चितवन टिममा आबद्ध भएका थिए ।
क्लब फुटबलमा नफर्कने मनसाय बनाएका मेघराज पुन ए डिभिजनमा देखिने भएका छन् । उनले आसन्न लिगमा नवप्रवेशी क्लब सातदोबाटोको चुनौती स्विकार गरेका छन् ।
‘थ्री स्टारबाट छाड्दा क्लब फुटबलमा फर्किन्न भनेर छाडेको हो । कोभिडले गर्दा सोचेको योजना सुरु गर्न समस्या भयो ।’ उनले भने, ‘छोटो समय पनि भएन, डेढ वर्ष बितिसकेको छ । आफैपनि पछाडी परिन्छ जस्तो लाग्यो । आफ्नो योजना सुरु गर्न समय लाग्ने भएकाले बीबाट एमा उक्लिएको टिमलाई हेरौं भन्ने लागेको हो ।’
मेघराज घरेलु फुटबलमा ‘हाइ प्रोफाइल’का प्रशिक्षक मानिन्छन् ।
आर्मी र थ्री स्टार क्लबको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका उनले घरेलु फुटबलमा लिग सहित थ्रुपै उपाधि हात पारेका छन् ।
लामो समय राष्ट्रिय फुटबल टिमको प्रशिक्षक समेत रहेका उनले उमेर समूहको राष्ट्रिय टिमको समेत मुख्य प्रशिक्षकको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।