काठमाडौं । यू–२३ राष्ट्रिय टिमका कप्तान अर्पन कार्कीले च्यासल क्लबबाट आसन्न ए डिभिजन लिग खेल्ने भएका छन् ।
आईतबार प्रेस बिज्ञप्ति जारी गर्दै च्यासलले यू–२३ टिमका कप्तान अर्पनले ललितपुरे क्लबको गोल पोस्ट सम्हाल्ने जनाएको छ ।
अर्पन यू–२३ टिमका कप्तान हुन् । नेपालले २०१७ मा साफ यू–१९ को उपाधि जित्दा उनी टिमका कप्तान थिए ।
उनले नेपालमा सन् २०१९ मा भएको दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक जित्दा टिमका सदस्य थिए ।
अर्पनले माल्दिभ्सको जेजे स्पोर्टस क्लब र भुटानको पारो एफसीबाट लिग खेलेका छन् । उनले नेपालमा पुलिस क्लबबाट समेत घरेलु लिग खेलेका छन् ।
आसन्न ए डिभिजन लिग कात्तिक २९ गतेबाट सुरु हुदैछ ।

यस्तै, च्यासलले साफ कोटमा भारतीय खेलाडी शेम मार्टनलाई अनुबन्ध गरिएको जनाएको छ ।
भारतीय प्रथम डिभिजनको आई लिग च्याम्पियन रहेका मार्टनलाई च्यासलले चेन्नाइ सिटी फुटबल क्लबबाट अनुबन्ध गरेको हो । २६ वर्षिय मार्टनसँग एएफसी कप खेलेको अनुभव रहेको च्यासलले जनाएको छ ।
च्यासलले तेस्रो पटक ए डिभिजन लिग खेल्दैछ । च्यासलले नयाँ सिजनका लागि बलियो टिम बनाएको छ । क्लबको कप्तानी राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान विराज महर्जनले गर्ने पक्का भएको छ ।