एजेन्सी ।
इंग्लिस प्रिमियर लिगमा लगातार चार जित । लिग अंक तालिकाको तेस्रो स्थानमा । शीर्ष स्थानमा रहेको चेल्सीसँग खालि तीन अंकको मात्र दूरी ।
यो हो, वेस्ट ह्यामका अहिलेको स्थिति ।
लिभरपुललाई आफ्नो घरमा हराएपछि वेस्ट ह्याम यो स्वपनिल स्थितिमा पुगेको हो ।
यस्तोमा प्रश्न उठेको छ, के अब वेस्ट ह्याम उपाधिको दावदोर हो त ?
उत्तर भने सजिलो छैन, किन भने लिगले भर्खर ११ चरण छोएको छ, लिगले अझै निकै लामो यात्रा तय गर्नु छ ।
तर अहिले तत्कालको स्थितिमा भन्न कर लाग्छ, डेविड मोयसको वेस्ट ह्यामले उपाधिका लागि चुनौती पेस गरेको सपना देख्न सक्छ ।
कसैले केही ठूलो सपना देख्छ भने त्यसमा किन दोष खोज्ने ?

वेस्ट ह्यामका फरवार्डले पाब्लो फोर्नल्सले ठीक भनेका छन् ।
उनी भन्थे, ‘वेस्ट ह्याम लिग उपाधिको दावेदार बनेको छ अथवा छैन्, त्यो मलाई थाहा छैन । यसबारे बोल्नु अहिले चाँडै हुनेछ । हामीले पछिल्ला खेलमा कडा मिहिनेत गरेका छौं । यो स्थितिमा हामीले मात्र केही राम्रो हुन्छ भनेर किन सपना नबुन्ने ?’
गत सिजन लिगमा वेस्ट ह्यामले खालि दुई अंकले मात्र चौथो स्थान गुमाएको थियो ।
प्रशिक्षकमा मोयस आएपछि वेस्ट ह्यामको प्रदर्शन राम्रो हुँदैछ । तर विश्वास नहुन सक्छ, त्यसको केही सिजन अगाडिसम्म वेस्ट ह्याम प्राय: रेलिगेसनको प्रत्यासी मानिन्थ्यो ।
अब यही टिम उपाधिको प्रत्यासी हुन थालेको छ ।
गज्जब छ, वेस्ट ह्यामले तय गरेको यात्रा । वास्तवमै क्लबले उपाधि जित्ने सपनाको उडान लिएको पनि अहिले सक्कली देखिन्छ ।
–बीबीसीको सहयोगमा ।