एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्यामले लिभरपुललाई हराएको छ ।
लिग तालिकाको शीर्षताको होडमा प्रतिस्पर्धा गरिरहेको लिभरपुल आईतबार राति वेस्ट ह्यामसँग स्तब्ध बनेको हो ।
लिभरपुललाई २६ खेलसम्म अपराजित रहदै नयाँ क्लब कीर्तिमान कायम गर्ने अवसर थियो । साथै जित निकाल्दै तालिकाको दोस्रो स्थानमा उक्लिने मौका थियो ।
तर घरेलु टोलीको दबाब झेल्न नसकेपछि लिभरपुलले ३–२ ले नतिजा सुम्पिन बाध्य भयो ।
खेलमा अग्रता वेस्ट ह्यामले एलिसनको आत्मघाति गोलबाट लिएको थियो । लिभरपुलका एलेक्जेन्डर अर्नाल्डले पहिलो हाफ सकिन ४ मिनेट अघि खेल बराबरीमा ल्याएका थिए ।
पोब्लो फोर्नाल्सले दोस्रो हाफमा पुन वेस्ट ह्यामलाई अघि बढाएका थिए । चेल्सीका पूर्व खेलाडी कर्ट जुमाले घरेलु टोली वेस्ट ह्यामलाई ३–१ को अवस्थामा पुर्याएका थिए ।
खेल सकिन ७ मिनेट अघि डिभोक ओरिगीले लिभरपुलका लागि गोल गरेपनि त्यो हार टार्न पर्याप्त रहेन । वेस्ट ह्यामले लिभरपुलसँग तीन अंक लिन सफल रह्यो ।
जित सहित लिभरपुललाई उछिन्दै वेस्ट ह्याम २३ अंक सहित तेस्रो स्थानमा उक्लिएको छ । लिभरपुल २२ अंक सहित चौथो स्थानमा छ ।