एजेन्सी । एस्टन भिल्लाले प्रशिक्षक डिन स्मिथलाई बर्खास्त गरेको छ ।
क्लबको तीन वर्ष नेतृत्व गरेका स्मिथलाई भिल्ला क्लबले बर्खास्त गरेको हो ।
५० वर्षिय स्मिथ नेतृत्वको भिल्ला गत शुक्रबार साउथह्याम्टनको हातबाट १–० ले पराजित बनेको थियो । प्रिमियर लिगमा भिल्लाको लगातार पाँचौ हार थियो ।
प्रिमियर लिगमा भिल्ला १५ औं स्थानमा छ । क्लब रेलिगेशन जोन भन्दा मात्र दुई अंक माथि छ ।
‘हामीले यस वर्ष नतिजामा निरन्तर प्रगति देखेनौं । प्रर्दशन र लिगको स्थानलाई हामीले हेरिरहेका थियौं ।’ क्लबका प्रमुख क्रिस्टियन पर्सलोले भने ।
‘यस कारण हामीले परिवर्तनको निर्णय गरेका छौं । नयाँ प्रशिक्षकलाई प्रभाव पार्नका लागि समय दिन यो निर्णय गरिएको हो ।’ उनले भने ।
स्मिथ सन् २०१८ मा भिल्ला क्लबको प्रशिक्षक नियुक्त भएका थिए । उनले क्लबलाई नेतृत्व गरेको पहिलो वर्षमै प्रिमियर लिगमा बढुवा गराएका थिए ।
क्लबले यस सिजन राम्रो नतिजा निकाल्न संघर्ष गरिरहेको छ । क्लब रेलिगेशन टार्न संघर्षरत छ । स्मिथको नेतृत्वमा क्लबले सन् २०१९–२० मा कारबाओ कपमा फाइनल यात्रा तय गरेको थियो ।
गत सिजन भिल्ला लिगमा ११ औं स्थान हात पारेको थियो । तर क्लबका स्टार खेलाडी ज्याक ग्रिलिस म्यानचेस्टर सिटी लागेपछि क्लबको नतिजा निरन्तर ओरालो लागिरहेको छ ।
सेप्टेम्बर २५ मा म्यानचेस्टर युनाइटेडसँग पराजित भएपछि क्लबले कुनै खेल जित्न सकेको छैन । यस सिजन क्लबले पछिल्ला ११ खेलमा मात्र १० अंक हासिल गरेको छ ।
स्मिथ यस सिजन बर्खास्तमा पर्ने पाँचौ प्रशिक्षक बनेका छन् । गत सोमबारमात्र टोटेनहमले नुनो सान्टोलाई बर्खास्त गरेको थियो भने शनिबार मात्र नर्विच सिटीका डेनियल फार्के बर्खास्तीमा परेका थिए ।