एजेन्सी ।
तीन गोलको अग्रता पनि कायम राख्न नसक्नुले पनि देखाउँछ, बार्सिलोनामा अपार कमजोरी छन् ।
स्पेनी ला लिगामा सेल्टाभिगोविरुद्ध बार्सिलोनाले बेहोरेको ३–३ को बराबरीमा धेरै चर्चाका विषय रहेका छन् ।
त्यसमध्ये एक हो, फिलिपो कोउटिन्हो वेञ्चमै सीमित हुनु ।
अनि यसका लागि कारण पनि अरू केही होइन्, यी ब्राजिली खेलाडी आफै अल्छि रहनु र मैदानमा प्रवेशका लागि फिटिक्कै उत्साहित नहुनु हो ।
भएको के थियो भन्दा अन्सु फाती घाइते भएपछि उनको स्थानमा मैदानमा प्रवेशका लागि सबैभन्दा उपयुक्त खेलाडी थिए, यिनै कोउटिन्हो ।
त्यसैले प्रशिक्षक सर्गी बारजुआनले उनलाई वार्म अपका लागि निर्देशन पनि दिएका थिए । तर कोउन्टिहोलाई मैदानमा प्रवेशका लागि अवसर नै दिइएन् ।
वार्म अपका बेला उनी निकै सुस्त देखिए र उनमा मैदान प्रवेश गर्ने कुनै इच्छा नै देखिएन् । त्यसैले उनी वेञ्चको वेञ्चमै रहे ।
लिभरपुलबाट महँगो न महँगो मूल्यमा बार्सिलोना आएका कोउटिन्होले कहिले पनि आफ्नो उपयोगिता सिद्ध गर्न सकेनन् । बार्सिलोनाका लागि उनी सधैं बोझ मात्र रहे ।
अब त सायद बार्सिलोनाका लागि खेल्नुमा कोउटिन्होमा कुनै जोस र जाँगर रहेन ।
सबैका लागि शिक्षा हो, वेञ्चबाट वार्म अप गर्दा पनि खेलाडी चुस्त र फुर्तिलो चाहिं हुनु पर्छ है ।
बजारी हल्ला सुन्ने हो भने उनी फेरि इंग्लिस प्रिमियर लिग फर्कदै छन् र उनको अबको गन्तब्य हुन सक्छ, न्युकासल युनाइटेड ।
एउटा निकै नै प्रतिभाशाली खेलाडी कसरी कति बेला कुहिन सक्छ भन्ने उदाहरण हुन्, कोउटिन्हो ।
–मार्काको सहयोगमा ।