एजेन्सी ।
सिजनको पहिलो जित । यसमा खुसी पो हुनु पर्ने हो ।
तर यति बेला सबैभन्दा दु:खी कोही छन् भने ती हुन्, नरविचका प्रमुख प्रशिक्षक ड्यानिएल फार्के ।
त्यसै भनिएको होइन्, फुटबल निर्दयी हुन्छ भनेर ।
इंग्लिस प्रिमियर लिगमा यस सिजनको पहिलो जितका लागि नरविचले ब्रेन्टफोर्डलाई २–१ ले हराएको थियो ।
तर पनि सिजनमा क्लबको खराव सुरुआतका लागि त्यसको मूल्य सबैभन्दा पहिले चुकाउने यिनै प्रशिक्षक रहे र वर्खास्तीमा परे । । सन् २०१७ मा नरविच आएका यी जर्मन प्रशिक्षकले नै नरविचलाई फेरि प्रिमियर लिगमा उकालेका थिए ।

दुई सिजन अगाडि प्रिमियर लिगबाट रेलिगेसनमा परेको नरविच फेरि बढुवा खाएर इंग्लिस लिगको माथिल्लो डिभिजनमा आएको थियो । तर अहिले लागिरहेको छ, नरविच फेरि घटुवामा पर्नेछ र फेरि जानेछ, च्याम्पियनसिप लिगमा ।
त्यसो भनेको इंग्लिस फुटबलको दोस्रो डिभिजन ।
नरविचमा उक्लने र झर्ने क्रम खुबै चलिरहन्छन् ।
मानौं लाग्छ, नरविच प्रिमियर लिगका लागि उपयुक्त छैन । धेरै कमजोर छ । फेरि लाग्छ, नरविच च्याम्निपयसपका लागि पनि ठीक छैन । किनभने यो लिगका लागि नरविच बढी नै बलियो छ ।
सायद यसपल्ट नरविच आफ्नो प्रिमियर लिग हैसियत जोगाउन चाहन्छ, त्यसैले सिजनको मध्य भागमा पुग्न अगाडि नै प्रशिक्षक वर्खास्तीमा परे ।
लिग अझै लामो छ र अब उनको तत्काल नजर नयाँ प्रशिक्षकमा हुनेछ ।
–मिररको सहयोगमा ।