एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा पीएसजीले संघर्षपूर्ण जित निकालेको छ ।
शनिबार राति पीएसजीले बोर्डोमाथि ३–२ को संघर्षपूर्ण जित निकालेको हो ।
पीएसजीको जितमा नेयमारले दुई तथा केलियन एम्बाप्पेले एक गोल गरे ।
खेलमा अग्रता पीएसजीले नेमायरको गोलमा २६ औं मिनेटमा लिएको थियो । केलियन एम्बाप्पेको पासलाई सदुपयोग गर्दै नेयमारले गोल गरेका थिए । पहिलो हाफ सकिन दुई मिनेट अघि एम्बाप्पेकै पासमा नेयमारले दोस्रो गोल गरे ।
दोस्रो हाफमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई ३–० ले अघि बढाएका थिए ।
त्यसपछि घरेलु टोली बोर्डोले दुई गोल फर्कायो ।
७८ औं मिनेटमा अल्बर्थ इलिसले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने कोशिश गरेका थिए । खेलको इन्जुरी समयमा मबेय नियाङले गोल गर्दै हार अन्तर हटाउने काम गरे ।
जित सहित पीएसजीले दोस्रो स्थानको लेन्ससँग १० अंकको स्पष्ट अग्रता लिएको छ । शीर्ष स्थानको पीएसजीको ३४ अंक भएको छ । बोर्डो १२ अंक सहित रेलिगेशन जोन भन्दा दुई स्थान मात्र माथि छ ।
मौरिसियो पोचिटिनोको टिम यस सिजन उत्कृष्ट लयमा देखिन्छ । उसले यस सिजन मात्र एक खेल गुमाएको छ । उसले साविक विजेता लिलीलाई पछि पार्दै उपाधिमा कब्जा जमाउने देखिन्छ ।
पीएसजी एक पटक लियोनल मेस्सी बिना मैदान उत्रिएको थियो । उनी घुँडाको चोटबाट निको हुने चरणमा रहेका छन् ।