एजेन्सी । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको खुलेर प्रशंसा गरेका छन् ।
शनिबार म्यानचेस्टर डर्बीमा भिड्नु अघि प्रशिक्षक ग्वार्डिओलाले युरोपेली क्लब फुटबलमा पछिल्लो एक दशक रोनाल्डोले कायम राखेको प्रभुत्वको खुलेर प्रशंसा गरे ।
उनले म्यानचेस्टर युनाइटेडका खेलाडीले ७५ वर्षको उमेरमा समेत गोल गर्न सक्ने धारणा राखे । रोनाल्डो यसै सिजन झण्डै सिटीसँग अनुबन्ध भएका थिए । उनी अन्तिम समयमा सिटी छाडेर युनाइटेड फर्कने निर्णय गरेका थिए ।
दशक अघि युनाइटेड छाडेर स्पेन पुगेका रोनाल्डो पुन पुरानै घर फर्किएका छन् । उनले ३६ वर्षको उमेरमा समेत गोल गर्ने कामलाई निरन्तरता दिएका छन् । यस सिजनमात्र उनले ७ महत्वपुर्ण गोल गरेका छन् ।
‘उनी जिवनभर गोल गर्न सक्छन् ।’ ग्वार्डिओलाले भने, ‘जब उनी ७५ वर्षको पुग्नेछन् । सायद सन्यास लिएका हुनेछन् । तर उनी आफ्नो ‘बारबेक्यु’मा खेल खेलिरहेका हुनेछन् र गोल गरिरहेका हुनेछन् ।’
‘यस प्रकारका खेलाडी । मेस्सी, रोनाल्डो जस्तै । जसले पछिल्लो दशक विश्व फुटबलमा गोल र गोलमात्र गरेका छन् । लक्ष्य हासिल गर्नका लागि आफ्नो टिमलाई सहयोग गरेका छन् । यो सबै आफै बोल्छ ।’ उनले भने ।
‘यो प्रिमियर लिगका लागि निकै राम्रो कुरा हो, रोनाल्डो फर्किएका छन् । युनाइटेड रोनाल्डोलाई प्रतिनिधित्व गर्छ, रोनाल्डो युनाइटेडलाई । यो राम्रो जोडी देखिएको छ । यो अतितमा थियो । सायद यो वर्तमान र भविष्यमा हुनेछ । हामी हेर्नेछौं ।’ ग्वार्डिओलाले थपे ।
एक समय रोनाल्डो युभेन्ट्स छाड्ने निश्चित थिए । त्यस अवस्थामा उनले धेरै क्लबसँग छलफल गरेका थिए । त्यसमा सिटीसँग गम्भिर छलफल भएको थियो ।
खेलाडी सरुवाको अन्तिम दिनसम्म सिटीले रोनाल्डो अनुबन्धको दौडलाई नेतृत्व गरिरहेको थियो । तर अन्तिम समयमा युनाइटेडले रोनाल्डोलाई क्लबमा फर्काउन सफल बन्यो ।
युनाइटेडका प्रशिक्षक ओले गुनर सोल्सायरले रोनाल्डोले सिटीको निलो जर्सी लगाउने विषय आफुले कल्पना समेत गर्न नसक्ने बताएका थिए ।
ग्वार्डिओलाले रोनाल्डो अनुबन्धको आफुहरु निकै नजिक रहेको बताएका थिए ।
‘तपाईहरु सोध्न सक्नुहुन्छ ।’ उनले भने, ‘ओलेले भनेका थिए, उनी सोच्न समेत सक्दैनन् । तपाईले उनलाई सोध्नुपर्छ । के तपाईलाई लाग्छ, उनीहरु दुवै खुसी छन् । यो सबैभन्दा महत्वपुर्ण हो ।’
इङ्ल्याण्ड फर्किएका रोनाल्डोले पछिल्ला ११ खेलमा ९ गोल गरेका छन् । उनले आफुलाई अझै युनाइटेडको महत्वपुर्ण खेलाडीको रुपमा प्रस्तुत गरिरहेका छन् ।
रोनाल्डोले च्याम्पियन्स लिगका पछिल्ला चार खेलमा ५ गोल गरेका छन् । उनले एटलान्टाविरुद्ध खेलको अन्तिम समयमा गोल गर्दै युनाइटेडलाई हारबाट जोगाएका थिए ।