काठमाडौं । टोटेनहम फुटबल क्लबका नवनियुक्त मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेले क्लबका खेलाडीहरुले विजेता मानसिकतामा स्वास फेर्न सिक्नुपर्ने बताएका छन् ।
इंग्लीस प्रिमियर लिगको उपाधिका लागि लड्न टोटेनहम तयार नरहेको बताउदै कोन्टेले विजेता मानसिकता बोक्नुपर्ने धारणा राखे ।
कोन्टेले टोटेनहमको जिम्मेवारी सम्हालेपछि क्लबले बिहिबार युरोपा लिग अन्तर्गत भिटेसमाथि ३–२ को जित निकालेको थियो ।
टोटेनहमले आईतबार इंग्लीस प्रिमियर लिग अन्तर्गत एभर्टनविरुद्ध खेल्नेछ ।
टोटेनहमसँग १८ महिनाको सम्झौता हस्ताक्षर गरेको कोन्टेमाथि क्लबलाई १३ वर्षपछि कुनै उपाधि दिलाउने अपेक्षा राखिएको छ ।
टोटेनहमले सन् २००८ मा लिग कपको उपाधि जिते यता कुनै पनि ट्रफी जित्न सकेको छैन ।
तर कोन्टेले खेलाडीहरुले आफ्नो मानसिकता परिवर्तन गरेर लामो समयसम्म खेलको बारेमा सोच्नुपर्ने बताए ।
‘निश्चयपनि यो पक्षमा हामीले सुधारको काम गर्नुपर्नेछ । यो सजिलो छैन किनभने तपाईले प्रत्येक दिन काम गर्नुपर्छ र तपाईले प्रत्येक दिन जित्ने मानसिकताको श्वास फेर्नुपर्छ ।’ कोन्टेले भने ।
टोटेनहमले अन्तिम पटक प्रिमियर लिगको उपाधि सन् १९६१ मा जितेको थियो ।
अर्कोतर्फ कोन्टेले प्रशिक्षकका रुपमा इटलीयन क्लब युभेन्टसलाई तीन पटक र इन्टर मिलानलाई एक पटक सिरि ए को उपाधि दिलाएका छन भने चेल्सीलाई एक पटक प्रिमियर लिगको उपाधि जिताएका छन् ।