काठमाडौं । बार्सिलोनाले जाभी हर्नान्डेजलाई क्लबको मुख्य प्रशिक्षक बनाउने सम्झौतामा पुगेको छ ।
बार्सिलोनाले जाभीलाई क्लबको पहिलो टिमको मुख्य प्रशिक्षक बनाउने सम्झौता गरेको छ । जाभीले बाँकी रहेको यस सिजन र थप दुई सिजनका लागि बार्सिलोनासँग सम्झौता गरेका छन् ।
जाभी बार्सिलोनाका युवा एकेडेमीका खेलाडी हुन् ।
उनले बार्सिलोनाका लागि कतारको अल सद क्लब छाडेका छन् । पछिल्ला केही दिन यता क्लबका मालिकसँग जाभी र बार्सिलोनाका पदाधिकारी छलफलमा थिए ।
जाभी र क्लबलाई मनाउन बार्सिलोनाका पदाधिकारी कतारनै पुगेका थिए ।
उनी शनिबार बार्सिलोना पुग्ने अपेक्षा गरिएको छ । बार्सिलोनाले क्लबको मुख्य प्रशिक्षकको रुपमा सोमबार जाभीलाई सार्वजनीक गर्ने तयारी गरेको छ । उनलाई समर्थक र आम दर्शक समक्ष नाउ क्याम्पमा सोमबार हेर्न सकिनेछ ।
मैदानमा सार्वजनीक गरे लगत्तै जाभीले प्रेस कन्फरेन्समा भाग लिनेछन् ।

जाभी बार्सिलोनाका लिजेन्ड खेलाडी मानिन्छन् । उनले सिनियर टिमबाट ७ सय ६७ खेल खेले । उनको कीर्तिमानलाई भर्खरै लियोनल मेस्सीले ७ सय ७८ खेलले पछि पारे ।
उनले १७ वर्ष सिनियर टिमबाट खेल्दा २५ मुख्य उपाधि जिते । युवा खेलाडीको उमेर सहित उनले २४ वर्ष बार्सिलोनामा बिताएका थिए ।
करियरको अन्तिम वर्ष उनले कतारको अल सदबाट खेलेका थिए । लगत्तै उनले प्रशिक्षकको रुपमा टिममा काम गरे ।
उनको नेतृत्वमा क्लबले कतारी सुपर कप जित्यो । उनले टिमलाई एएफसी च्याम्पियन्स लिगको सेमिफाइनल सम्म पुर्याएका थिए । प्रशिक्षकको रुपमा उनले ७ विभिन्न उपाधि जिते । जसमा तीन उपाधि सन् २०२१ मा जितेका छन् ।