एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलमा आज (शनिबार) राति म्यानचेस्टर डर्बीको खेल हुदैछ । ओल्डट्राफोर्डमा हुने खेलमा म्यानचेस्टर युनाईटेडले सिटीलाई घरेलु मैदानमा आतिथ्यता प्रदान गर्नेछ ।
मंगलबार एटलान्टाविरुद्धको खेलमा चोट बोकेका राफेल भाराने करिब एक महिना मैदान बाहिर रहने भएका छन् । अर्का डिफेडन्र भिक्टोर लिन्डेलोफले समेत सामान्य चोटका कारण डर्बी खेल गुमाउने छन् ।
मिडफिल्डर पाउल पोग्बा तीन खेलको प्रतिबन्धका कारण सिटीविरुद्धको खेलमा देखिने छैनन् ।
यता, म्यानचेष्टर सिटीका सेन्टर ब्याक आयमेरिक लापोर्टेले क्रिस्टल प्यालेसविरुद्धको पछिल्लो खेलमा रातो कार्ड खाएका थिए ।
सिटीसँग केयल वाल्कर हुनेछन्, जो बुधबार च्याम्पियन्स लिगमा क्लब ब्रुगिसविरुद्धको खेलमा बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका थिए ।
घरेलु मैदानमा जित निकाल्दै युनाइटेडलाई तेस्रो स्थानको सिटीसँग अंक बराबरीको अवसर छ । सिटीलाई समेत तीन अंक हात पार्दै दोस्रो स्थानमा उक्लिएर शीर्ष स्थानको चेल्सीमाथि दबाब बढाउने अवसर छ ।
शनिबारनै हुने अन्य खेलमा शीर्ष स्थानको लण्डन क्लब चेल्सीले रेलिगेशन जोनको वर्नलीसँग खेल्नेछ भने पुछारको टिम नर्विच सिटी ब्रेन्टफोर्डको भ्रमणमा निस्कनेछ ।
क्रिस्टल प्यालेसले घरेलु मैदानमा उल्भ्सलाई आतिथ्यता प्रदान गर्दा रेलिगेशन जोनको न्युक्यासल ब्राइटोनको भ्रमणमा निस्कनेछ ।