काठमाडौं । जाभी हर्नान्डेज स्पेनिस फुटबल क्लब बार्सिलोनाको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।
बार्सिलोनाले रोनाल्ड कोयम्यानलाई बर्खास्त गरेपछि मुख्य प्रशिक्षकका लागि जाभीलाई नियुक्त गरेको हो ।
पछिल्लो समय समस्याग्रस्त क्लबको रुपमा रहेको बार्सिलोनाले कोयम्यानको स्थानमा सेर्जी बार्जुआनलाई अन्तरिम प्रशिक्षकको रुपमा नियुक्त गरेको थियो ।
स्पेनिस ला लिगामा बार्सिलोनाले लगातार रुपमा खराब प्रदर्शन गरिरहेको छ र अहिले नवौं स्थानमा रहेको छ ।
जाभीले खेलाडीको रुपमा १७ वर्ष बार्सिलोनाको लागि खेल्दै सन् २०१५ मा क्लब छाडेका थिए ।
बार्सिलोनाले जाभीलाई भित्र्याउन कतारी क्लब अल–सादसँग संघर्ष गर्नुपरेको थियो भने जाभीले भने बार्सिलोना फर्कन अनुनय-विनय गरेका थिए ।
जाभी अहिले अल–सादको मुख्य प्रशिक्षकका रुपमा रहेका छन् ।
४१ वर्षीय जाभीले खेलाडीको रुपमा बार्सिलोनालाई आठ पटक ला लिगा र चार पटक च्याम्पियन्स लिगको उपाधि जिताएका थिए ।
सन् २०१० मा स्पेनलाई विश्वकपको उपाधिका साथै दुई पटक युरोपियन च्याम्पियनसिप जिताएका थिए ।
त्यसपछि उनी कतारी क्लब अल–सादको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्न पुगेका थिए ।
तर बार्सिलोनाले सनिबार ला लिगा अन्तर्गत सेल्टा भिगोविरुद्ध खेल्दा जाभीले जिम्मेवारी सम्हाल्ने छन् वा छैनन त्यो भने अहिले खुलाइएको छैन ।
उनले नोभेम्बर २० मा इस्पानियोलविरुद्धको खेलपछि आफ्नो जिम्मेवारी सम्हाल्ने अनुमान गरिएको छ ।
जाभीले विगत दुई वर्षदेखि मध्य–पूर्वमा आफ्नो प्रशिक्षणको कला निखार्दै आएका थिए ।