एजेन्सी । एन्टोनियो कोन्टेले टोटेनहमबाट सुखद सुरुवात गरेका छन् । कोन्टेको नेतृत्वमा बिहिबार राति टोटेनहमले युरोपा लिगको समूह चरणको खेलमा जित निकालेको छ ।
समूह जीको खेलमा टोटेनहमले डच क्लब भिटेसलाई ३–२ ले हराएको छ ।
खेलको ५९ औं मिनेटमा टोटेनहम १० खेलाडीमा सिमित बनेको थियो । क्रिस्टियन रोमेरोले टोटेनहमका लागि रातो कार्ड पाएका थिए ।
पाहुना टोली भिटेसले समेत ९ खेलाडीमा सिमिति रहेर खेलको अन्त्य गरेको थियो । कप्तान ड्यानिल्हो दोहोरो पहेलो कार्ड खादै ८० औं मिनेटमा मैदान छाडेका थिए ।
त्यसको चार मिनेटपछि गोलकिपर मार्कस सुबर्टले रातो कार्ड ब्यहोरेका थिए ।
खेलमा अग्रता टोटेनहमले १४ औं मिनेटमा सन ह्युङ मिनको गोलबाट लिएको थियो ।
लुकास मौराले २२ औं मिनेटमा घरेलु टोलीको अग्रता दोब्बर बनाए ।
याकुब रासमुसेनले २८ औं मिनेटमा आत्मघाति गोल गरेपछि टोटेनहम ३–० ले अघि बढेको थियो ।
उनै रासमुसेनले ३२ औं मिनेटमा गोल गर्दै पाहुना टोलीका लागि हार अन्तर घटाउने काम गरे । त्यसको ७ मिनेटमै माटुस बिरोले भिटेसका लागि दोस्रो गोल थपेका थिए ।
भिटेस दोस्रो हाफमा थप आक्रमक देखिएको थियो ।
वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका लोइस ओपेन्डा र रिच्डली बाजोएरको आक्रमक प्रहारलाई ह्युगो लोरिसले उत्कृष्ट बचाउ गरेका थिए ।
खेलको अन्तिममा टोटेनहमले जित हासिल गर्यो । समूह जीमा टोटेनहम फ्रेन्च क्लब रेनिस पछि दोस्रो स्थानमा रहेको छ । भिटेस ६ अंक सहित तेस्रो स्थानमा छ ।