काठमाडौं । ए डिभिजनका चार क्लबले एएफसीको क्लब लाइसेन्स प्राप्त गरेका छन् ।
मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, मनाङ मर्स्याङदी फुटबल क्लब र एपिएफ फुटबल क्लबले सो लाइसेन्स प्राप्त गरेका हुन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को फस्ट इन्सट्यान्ट बडीले चार क्लबलाई यस सिजनको लागि लाइसेन्स प्रदान गरेको हो ।
एएफसी क्लब लाइसेन्सको मूल प्रक्रियाको समय सिमापछि एएफसीलाई यो निर्णय पठाइएको एन्फाले जनाएको छ ।
क्लब लाइसेन्स प्राप्त गर्ने क्लबहरुले जारी सिजनमा एएफसीले आयोजना गर्ने क्लबस्तरीय प्रतियोगितामा सहभागिता जनाउन पानेछन् ।
क्लब लाईसेन्सिङको मापदण्डमा युवा खेलाडी विकासदेखि क्लबलाई ब्यवस्थित बनाउन आवश्यक पर्ने जनशक्तिको ब्यवस्था गर्नुपर्ने उल्लेख छ ।
क्लब लाईसेन्स लागु भएसंगै ब्यवस्थित ढङ्गले फुटबल सञ्चालन गर्न बाटो खुल्ने एएफसीको अपेक्षा छ ।
एएफसीले सन् २०१४ देखि क्लब लाईसेन्सिङ लागु गर्न एन्फालाई दबाब दिदै आएको थियो । झण्डै ६ वर्षको अन्तरमा नेपालमा पहिलो पटक आर्मी क्लबले मात्र एएफसीको क्लब लाईसेन्स पाउन सकेको थियो ।
‘मापदण्ड पुरा गरेपछि चार क्लबलाई एएफसीको क्लब लाईसेन्सका लागि दिने निर्णय गरेका हौं ।’ एएफसीको क्लब लाइसेन्स हेरिरहेका एन्फाका एक अधिकारीले खेलपाटीलाई भने ।
‘मनाङले विधान संशोधन गरेर फुटबल खेल्ने मात्र उद्धेश्य राखेको छ । मछिन्द्रले आफुलाई प्राइभेट लिमिटेडमा लगेको छ । अन्य दुई विभागले समेत बेग्लै विधान बनाएर फुटबल क्लब सञ्चालन गरेका छन् । सोही अनुसार चार क्लबको मापदण्ड पुरा भएको देखिन्छ ।’ उनले भने ।