एजेन्सी ।
टोटनहममा नयाँ व्यवस्थापक एन्टोनियो कोन्टेको सबैभन्दा ठूलो विशेषता हो, उनी वास्तवमै ‘सिरिएल विनर’ हुन् ।
तर उनको व्यक्तित्वको एउटा अर्को विशेषता पनि छ र त्यो हो, उनी आक्रामक छन् । रिसाहा छन् । सन्काहा पनि छन् ।
यस्तोमा मज्जा आउने छ, जति बेला उनी इंग्लिस प्रिमियर लिगमा फेरि फर्केर टोटनहमको ‘डगआउट’ सम्हाल्नेछन् ।
नुनो सान्टोलाई वर्खास्त गरेपछि टोटनहमले मंगलबार उनलाई नियुक्त गरेको हो ।
यससँगै टोटनहममा पोर्चुगाली प्रशिक्षकको उतारचढावपूर्ण चार महिनाको यात्रामा पूर्ण विराम लागेको छ । फुटबल प्रशिक्षकका रूपमा कोन्टे यी सान्टो भन्दा कता हो कता अब्बल दर्जाका छन् ।
अनि प्रतिष्ठित पनि । सफल पनि उत्तिकै ।
इटालीका ५२ वर्षीय कोन्टेले पछिल्लो सिजन इन्टर मिलानका लागि सिरी ए जिते । इन्टरले ११ वर्षपछि लिग जितेको थियो, तर कोन्टेले तुरुन्तै जस्तो इन्टर छाडे ।
उनले यस्तै सफलता युभेन्ट्सका लागि तीन पल्ट चुमेका छन् । कोन्टेले चेल्सीमा रहेका बेला पनि प्रिमियर लिग र एफएकप दुवै जिते । एक प्रकारले भन्दा कोन्टे जहाँ जान्छन्, त्यहाँ त्यहाँ कुनै न कुनै उपाधि जित्छन् ।
तर यता टोटनहमले कुनै पनि उपाधि नजितेको १३ वर्षय भयो, जबकी अब यही क्लब युरोपेली फुटबलका एक अनुभवी प्रशिक्षकले सम्हाल्ने छन् ।
एक प्रकारले भन्दा जित्ने बानी भएका कोन्टे र जित्न बिर्सेको पनि धेरै वर्ष भएको क्लब टोटनहमबीच कसरी समन्वय हुन्छ त ?
यी त एकअर्काका विपरित छन्, दुवै विपरित ध्रुवमा बसेका छन् ।
खासमा फुटबलमा अब हेर्न मज्जा भनेको यही हो ।
–एएफपीको सहयोगमा ।