एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले डायनामो किभलाई हराएको छ ।
मंगलबार राति समूह इको खेलमा बार्सिलोनाले युक्रेनकाे डायनामो किभलाई १–० ले हराएको हो ।
बार्सिलोनाको जितमा अंशु फातीले विजयी गोल गरे । उनले खेलको ७० औं मिनेटमा गरेको गोल बार्सिलोनालाई जित दिलाउन पर्याप्त रह्यो ।
जित सहित बार्सिलोना समूह इको दोस्रो स्थानमा उक्लिएको छ ।
च्याम्पियन्स लिगको सुरुवाती दुई खेलमा बार्सिलोनाले समान ३–० को हार ब्यहोरेको थियो । तर चार खेलको समाप्तिमा बार्सिलोनाले तेस्रो स्थानको बेन्फिकासँग स्पष्ट २ अंकको अग्रता लिएको छ ।
प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेपछि बार्सिलोना अन्तरिम प्रशिक्षकको नेतृत्वमा पहिलो पटक च्याम्पियन्स लिगमा उत्रिएको हो ।
बार्सिलोना नोभेम्बर २३ मा बेन्फिकालाई पराजित गरेको खण्डमा पछिल्ला १७ सिजन च्याम्पियन्स लिगको नकआउट चरण पुग्ने टोली बन्नेछ ।