काठमाडौं । एएफसी यू-२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपालले फराकिलो हार व्यहोरेको छ ।
ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा आइतबार नेपाल लेबनानसँग ४-० गोल अन्तरले पराजित भएको हो ।
लेबनानलाई जित दिलाउन जेइन फरानले दुई गोल गरे । मोहमद नासिर र मोहमद हेइदरले एक एक गोल गरे ।

खेलको २६ औं मिनेटमा फरानले गोल गर्दै लेबनानलाई सुरुआती अग्रता दिलाएका थिए ।
४७ औं मिनेटमा जेइन फरानले व्यक्तिगत दोस्रो गोल गर्दै लेबनानलाई २-० को अग्रता दिलाए ।
खेलको ७४ औं मिनेटमा मोहमद नासिरले गोल गर्दा लेबनान ३-० ले अघि रह्यो ।
त्यसपछि खेलको ८२ औं मिनेटमा हेइदरले गोल गर्दै लेबनानलाई ४-० को जित दिलाए ।

यस जितसँगै लेबनानले प्रतियोगिताको सुखद अन्त्य गरेको छ । तर, लेबनान अर्को चरणमा भने पुग्न सकेन ।
नेपाल जित विहीन रहदै घर फर्किएको छ । समूह 'बी' को नेपालले अंक जोड्न सकेन ।
नेपाल पहिलो खेलमा इरानसँग ४-० र दोस्रो खेलमा ताजिकिस्तानसँग ६-० गोल अन्तरले पराजित भएको थियो ।
नेपाल समूहको पुछारमा रह्यो । लेबनान ३ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।