काठमाडौं । इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानका तीन टिम, अनि तीनै फरक नतिजा । शनिबार इंग्लिस माथिल्लो डिभिजनमा यस्तै भयो ।
सन् २०१७ यता पहिलो पल्ट यस्तो संयोग जुरेको थियो, लिगको शीर्ष स्थानमा रहेका टिमले शनिबार स्थानीय तीन बजेको समयमा खेले । अनि लिग उपाधि पछ्याइरहेका टिमले नतिजा पनि वास्तवमै फरक फरक बेहोरे ।
यी तीन टिममध्ये सबैभन्दा ठूलो विजेता रह्यो, चेल्सी । उसले न्युकासल युनाइटेडलाई ३–० ले हरायो । यो जितपछि चेल्सीले तीन अंकको अग्रता लिएको छ, शीर्ष स्थानमा ।

लिभरपुल भने सजिलो जिततर्फ अग्रसर थियो । उसले ब्राइटनविरुद्ध दुई गोलको अग्रता पनि लिइसकेको थियो, तर अन्त्यमा खेल २–२ को बराबरीमा छुट्यो ।
लिभरपुलको दृष्टिकोणमा यो खराव नतिजा रह्यो । यो भन्दा पनि खराव नतिजा त म्यानचेस्टर सिटीको नाममा रह्यो । घरमै सिटी क्रिस्टल प्यालेसको हातबाट २–० ले पराजित रह्यो । अझ खेलको अन्त्यमा सिटी १० खेलाडीमो सीमित थियो ।
यस्तोमा न त लिभरपुलका योर्गन क्लोप खुसी हुन सकेन, न त सिटीका पेप ग्वार्डिओला ।

खासमा खुसी हुने पालो चेल्सीका थोमस टुचेलको थियो । तर यी तीन खेलको नतिजाबाट सोधिएको प्रश्नमा उनको जवाफ परिपक्व रह्यो ।
उनले भनेका छन्, ‘हाम्रो लागि शनिबारको दिन खुसीको रह्यो, किनभने हामीले जित्यौं । हाम्रो खेललाई छाडेर अन्त्यत्र के भयो, त्यसमा खुसी हुनु ठीक हुन्न । अरूको नतिजा र प्रदर्शनमा खुसी हुनु हुन्न ।’

–बीबीसीको सहयोगमा ।