काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी पराजित भएको छ ।
शनिबार राति भएको खेलमा सिटी क्रिस्टल प्यालेससँग २-० गोल अन्तरले पराजित भएको हो ।
१० खेलाडीमा समेटिएको सिटी घरेलु मैदानमै पराजित भएको हो ।
प्यालेसको जितमा विल्फ्रिड जाहा र कोनर गलाघरले एक एक गोल गरे ।
जाहाले खेलको छैटौं मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा एम्रिक लापोर्टेले रातो कार्ड पाएपछि सिटी १० खेलाडीमा समेटिएको थियो ।
प्यालेसका जाहालाई फउल गरेपछि रेफ्रीले लापोर्टेलाई रातो कार्ड देखाएका थिए ।
त्यसपछि खेलको ८८ औं मिनेटमा कोनरले गोल गर्दै प्यालेसलाई २-० को जित दिलाए ।
जितसँगै प्यालेसले १० खेलमा १२ अंक जोडेको छ ।
प्यालेस १३ औं स्थानमा रहेको छ ।
सिटी २० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
