काठमाडौं । सुनकोशी गाउँपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार चौदण्डीगढी नगरपालिकालाई ६-० ले पराजित गर्दै सुनकोशीले नकआउट चरणमा स्थान बनाएको हो ।
सुनकोशीको जितमा सुष्मा तामाङले ह्याट्रिक गोल गरिन् । अनु लामाले दुई तथा घिम कुमारी गुरुङले एक गोल गरिन् ।
यस जितसँगै समूह जे को सुनकोशीले २ खेलमा ६ अंक जोडेको छ ।
चौदण्डीगढीले अंक जोड्न सकेको छैन । चौदण्डीले अन्तिम खेलमा धरान उपमहानगरपालिकासँग खेल्नेछ ।
प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई एन्फाले १० समूहमा विभाजन गरेको छ ।
प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् ।
यस्तै प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् ।