काठमाडौं । बेदकोट नगरपालिका र गौरिगंगा नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगितामा बराबरी खेल्दै अंक बाडेका छन्।
एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार बेदकोट र गौरिगंगाले १-१ गोलको बराबरी खेलेका छन् ।
खेलको पहिलो हाफमा कप्तान निलम सिंहले गोल गर्दै बेदकोटलाई सुरुआती अग्रता दिलाएकी थिइन् ।
तर, मन्जली कुमारी योन्जनले दोस्रो हाफमा गोल गर्दै गौरिगंगालाई हारबाट जोगाईन् ।
यस बराबरीसँगै समूह आई को बेदकोटले २ खेलमा ४ अंक जोडेको छ।
गौरिगंगाले १ खेलमा १ अंक जोडेको छ ।
प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई एन्फाले १० समूहमा विभाजन गरेको छ ।
प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् ।
यस्तै प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् ।