काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी आज नेपाल आईपुग्ने भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) सँग सम्झौता नवीकरण गरेपछि प्रशिक्षक अलमुताइरी नेपाल आउन लागेका हुन् ।
एन्फाले प्रशिक्षक अलमुताइरी आज राति ७:३० बजे नेपाल आईपुग्ने जनाएको छ।
प्रशिक्षक अलमुताइरीले सामाजिक संजाल फेसबुकबाट आफु नेपाल फर्कदै गरेको जनाएका छन्।
अलमुताइरीले एन्फासँग दुई वर्षको सम्झौता नवीकरण गरेका थिए । उनले सम्झौता एक वर्ष बाँकी रहदै नवीकरण गरेका हुन्।
कुवेती प्रशिक्षक अलमुताइरीले नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुर्राएका थिए ।
माल्दिभ्समा दुई साता अघि सम्पन्न साफको फाइनलमा नेपाल भारतसँग ३-० ले पराजित भएको थियो । उपाधि जित्न नसकेपनि नेपाल पहिलो पटक साफको उपविजेता बनेको हो ।
तर, फाइनल अघि प्रशिक्षक अलमुताइरीले फाइनल खेल नेपालको लागि आफ्नो अन्तिम खेल भएको बताएका थिए ।
अलमुताइरी माल्दिभ्सबाटै कुवेत फर्किएका थिए ।