काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल प्रतियोगिताको उद्घाटन खेलमा फ्रेन्ड्स क्लब कुपन्डोल र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार सार्वजनिक गरेको खेल तालिका अनुसार कात्तिक २९ गते हुने उद्घाटनमा फ्रेन्ड्स र सातदोबाटो भिड्ने भएका हुन् ।
दशरथ रंगशालामा हुने उद्घाटन खेल फ्लड लाइटमा खेलाईने छ । उक्त खेल बेलुका ५ बजे सुरु हुनेछ ।

सातदोबाटोले पहिलो पटक 'ए' लिग खेल्न लागेको हो । सातदोबाटो 'बी' लिगको च्याम्पियन बन्दै शीर्ष डिभिजनमा बढुवा भएको हो।
फागुन १४ गतेसम्म हुने लिगमा 'ए' डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
लिगमा कुल ९१ खेल हुनेछ । लिगका खेलहरु रंगशाला र एन्फा कम्प्लेक्समा हुनेछ ।
यस पटकको लिगको पुछारका दुई टिम रेलिगेसनमा पर्दै 'बी' डिभिजनमा झर्ने छन् ।
अघिल्लो सिजनको उपाधि मछिन्द्र क्लबले जितेको थियो ।
