काठमाडौं । कन्काई नगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार बागमती नगरपालिकासँग १-१ गोलको बराबरी खेल्दै कन्काई नकआउट चरणमा पुगेको हो ।
प्रतिस्पर्धात्मक खेलमा कुशुम खतिवडाले गोल गर्दै कन्काईलाई अग्रता दिलाएकी थिइन् ।
तर, सदिपा ब्लोनले गोल गर्दै बागमतीलाई १-१ गोलको बराबरीमा फर्काएकी थिइन्।
यस बराबरीसँगै समूह ए बाट कन्काईले ३ खेलमा ७ अंक जोड्यो । र, कन्काई शीर्ष स्थानमा रहदै नकआउट चरणमा पुगेको हो ।
बागमतीले ३ खेलमा ७ अंक जोड्यो । तर, बागमती गोल अन्तरमा कन्काईसँग पछि परेको हो ।
प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई एन्फाले १० समूहमा विभाजन गरेको छ ।
प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् ।
यस्तै प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान २०/२० हजार पाउने छन् ।