काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर युनाईटेडमाथि सानदार जित निकालेको छ ।
आइतबार राति भएको खेलमा लिभरपुलले १० खेलाडीमा समेटिएको युनाईटेडमाथि ५-० गोल अन्तरको सानदार जित निकालेको हो ।
युनाईटेडको घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन मोहमद सलाहले ह्याट्रिक गरे ।
नेबी केइटा र डिएगो जोटाले एक एक गोल गरे ।

खेलको पाँचौं मिनेटमा केइटाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।
१३ औं मिनेटमा जोटाले गोल गर्दा लिभरपुलको अग्रता २-० को बन्यो ।
खेलको ३८ औं मिनेटमा सलाहले गोल गर्दै टिमको अग्रता ३-०को बनाए ।

पहिलो हाफको इन्जुरी समयमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ५० औं मिनेटमा सलाहले ह्याट्रिक पूरा गरेपछि लिभरपुल ५-० ले विजयी भयो ।
५८ औं मिनेटमा युनाईटेडका क्रिस्टियानो रोनाल्डोले गोल गरेपनि मान्यता पाएन । भीएआरको सहायतामा गोल गर्नु अघि रोनाल्डो अफसाइड देखिएका थिए ।

यस्तै खेलको ६० औं मिनेटमा पाउल पोग्बाले रातो कार्ड पाएपछि युनाईटेड १० खेलाडीमा समेटिएको थियो ।
केइटामाथि डरलाग्दो फउल गरेपछि पोग्बाले रातो कार्ड पाएका हुन् । चोट बोकेपछि केइटाको स्थानमा एलेक्स चेम्बरलिन मैदान प्रवेश गरेका थिए।

जितसँगै लिभरपुल लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
लिभरपुलले ९ खेलमा २१ अंक जोडेको छ ।
युनाईटेड १४ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
