काठमाडौं । उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा इलामको रोङ गाउँपालिकाले बराबरी खेलेको छ ।
सात्तदोबाटोस्थित एन्फा कम्प्लेक्समा आईतबार आफ्नो पहिलो खेलमा रोङले काठमाडौं महानगरपालिकासँग गोलरहित बराबरी खेलेको हो ।
दुबै टोलीले केही राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा एक–एक अंक बाँडेका छन् ।
नेपाली राष्ट्रिय महिला टोलीकी मिडफिल्डर दिपा राई र इन्दिरा राई, डिफेन्डर विमला बिक र गोलरक्षक रूपा राना रोङका तर्फबाट मैदानमा उत्रिएका थिए ।
खेलको प्लेयर अफ द म्याच रोङकी डिफेन्डर बिमला विक घोषित भइन् ।
अखिल नेपाल फुटबल संघको आयोजनामा कात्तिक ४ गतेबाट भएको प्रतियोगिता अन्तर्गत रोङले अर्को खेल ९ गते सिमीकोट गाउँपालिकाविरुद्ध खेल्नेछ ।
यसअघि ५ गते सिमीकोट र काठमाडौंबीच हुने भनिएको खेल ११ गतेलाई सारिएको छ ।
प्रतियोगितामा कुल ३१ पालिकाको सहभागिता रहेको छ । छनोट प्रतियोगिताबाट २ टिमले राष्ट्रिय महिला लिग खेल्नेछन् ।
एन्फाले राष्ट्रिय लिगमा यसअघि ३ विभागीय क्लब (त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ क्लब र नेपाल पुलिस क्लब) र मोफसलका वालिङ नगरपालिका स्याङ्जा, विराटनगर महानगरपालिका मोरङ, चन्द्रपुर नगरपालिका रौतहटलाई सिधै राष्ट्रिय लिगमा प्रवेश दिएको छ ।