काठमाडौं । झापाको शिवसताक्षी नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार देवचुली नगरपालिकालाई १-० गोल अन्तरले पराजित गर्दै शिवसताक्षीले दोस्रो जित निकालेको हो ।
शिवसताक्षीको जितमा शर्मिला राईले निर्णायक गोल गरिन् । उनले खेलको ३० औं मिनेटमा गोल गरेकी थिइन् ।
यस अघि पहिलो खेलमा शिवसताक्षीले जानकी नगरपालिकालाई ४-० गोल अन्तरले हराएको थियो ।
प्रतियोगिता अन्तर्गत नै काठमाडौं महानगरपालिका र रोङ नगरपालिकाले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।
प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई एन्फाले १० समूहमा विभाजन गरेको छ ।
प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् ।
यस्तै प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान २०/२० हजार पाउने छन् ।