काठमाडौं । चितवन भेट्रान्स क्लबले मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार चितवनले चितवन वेस्ट भेट्रान्सलाई ९-० गोल अन्तरले हराएको हो ।
चितवनको जितमा रमेश थापाले ह्याट्रिक गरे । कप्तान रविन्द्र श्रेष्ठ र सुरेश कुमार श्रेष्ठले २/२ गोल गरे । धरेन्द्र राज साई र कमल गुरुङले एक एक गोल गरे ।
अर्को खेलमा श्री कुमारी भेट्रान्सले झम्सिखेल भेट्रान्सलाई २-० ले हराएको हो ।
श्री कुमारीको जितमा देवेन्द्र भण्डारी र सकुल हमालले एक एक गोल गरे ।
त्यस्तै विजय युथ क्लब हेटौडाले काभ्रे भेट्रान्सलाई ३-० ले हराएको छ ।
विजय युथका लागि कृष्ण शाक्यले दुई तथा उत्तर कुमार दाहालले एक गोल गरे ।

प्रतियोगिता अन्तर्गत नै पहिलो खेलमा एफई खुमलटार भेट्रान्स क्लबले ललितपुर वार्ड नम्बर १४ लाई ४-१ गोल अन्तरले पराजित गरेको थियो ।
खुमलटारको जितमा जुमानु राईले दुई गोल गरे । जुमानु प्लेयर अफ दि म्याच समेत बने ।
यस्तै राजकुमार घिसिङ र रितेश खड्काले एक एक गोल गरे ।
ललितपुरका लागि खुमलटारकै विनोद खड्कीले एक आत्मघाती गोल गरे ।
फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी प्रतियोगितामा २१ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
२१ टिमलाई सात समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता र एक उत्कृष्ट उपविजेता टिमले दोस्रो चरणमा स्थान बनाउनेछन् ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउने पाउने छन्।
त्यस्तै विधागत रुपमा उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।