बिमल मछिन्द्रमा अनुबन्धित

काठमाडौं । ‘ए’ डिभिजन क्लब मछिन्द्रले बिमल घर्तिमगरलाई अनुबन्ध गरेको छ ।
काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै मछिन्द्रले बिमललाई औपचारिक रुपमा अनुबन्ध गरेको हो ।
क्लबका उपाध्यक्ष अनिल श्रेष्ठ र बिमलले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
सम्झौताको अवधि एक सिजनको रहेको छ । क्लबका अनुसार बिमलले चलन चल्ती अनुसारको रकम पाएका छन् ।
सामान्ययता राष्ट्रिय टिमका खेलाडीले १ लाखदेखि २ लाख रुपैयाँसम्म लिदै क्लबसँग सम्झौता गरेका छन् । बिमलको रकम समेत यहीँ भित्र रहने अनुमान गरिएको छ ।
फरवार्ड बिमलले गत सिजन पनि मछिन्द्रबाट लिगको अन्तिम खेल खेलेका थिए । र मछिन्द्रबाट मोफसलका केही प्रतियोगितामा सहभागीता जनाएका थिए ।
यस सिजनको ‘ए’ डिभिजन लिग कात्तिक २९ गतेबाट सुरु हुँदैछ ।
मछिन्द्र गत सिजनको लिग विजेता क्लब हो । मछिन्द्र खेलाडी अनुबन्धमा ठुलो रकम खर्च गरेर घरेलु फुटबलमा नयाँ शक्तिको रुपमा उदाएको छ ।
राष्ट्रिय फुटबल टिमका अधिकांश खेलाडीलाई टिममा राख्ने मछिन्द्रको योजना देखिन्छ । सोही अनुसार मछिन्द्रले बिशाल राई, सुजल श्रेष्ठ, बिशाल श्रेष्ठ, मनिष डाँगी, शुनिल बल लगायतका राष्ट्रिय टिमका खेलाडीलाई नयाँ सिजनका लागि क्लबमा अनुबन्ध गरिसकेको छ ।
यस वर्षको सुरुवातमा नेपाल सुपर लिग (एनएसएल)मा उत्कृष्ट प्रर्दशन गर्ने विदेशी खेलाडीलाई क्लबमा अनुबन्ध गर्ने मछिन्द्रको योजना छ ।
सम्झौतापछि बिमलले टिमलाई उपाधि जिताउने प्रयास गर्ने प्रतिक्रिया दिए ।
‘सुरुवातमा क्लबलाई धन्यवाद दिन चाहन्छु । गत वर्ष एक खेलमात्र खेल्न पाएको थिए । एक खेल खेलेरै उपाधि पाएको थिए । यो वर्ष सुरुवातै खेल्ने प्रयास गर्नेछु । मेरो कोशिश उपाधि जित्ने हो । टिमलाई उपाधि जित्न सहयोग गर्नेछु ।’ बिमलले भने ।
नेपालका लागि २६ खेल खेलिसकेका बिमलले गत वर्ष बन्द प्रशिक्षणका क्रममा घाइते भएपछि लामो समय मैदान बाहिर रहेका थिए । गत पुसमा दाहिने घुडाँमा चोट लागेपछि बिमल उपचारका लागि कतार गएका थिए ।
अखिल नेपाल फुटबल संघले कतार फुटबल संघसंगको सहयोगमा बिमलको उपचार गरेको थियो । उपचारबाट निको हुँदै बिमल मैदान फर्कने तयारीमा छन् । उनको पुनरागमनलाई घरेलु फुटबलमा महत्वका साथ हेरिएको छ ।
क्लबमा उपाध्यक्ष तथा म्यानेजर अनिल श्रेष्ठले बिमलको आगमनले टिम बलियो बनेको प्रतिक्रिया दिए ।
‘बिमल जत्तिको खेलाडी अनुबन्ध गर्न पाउँदा खुसी छौं । बिमल निकै राम्रो खेलाडी हो । उनले आफुलाई प्रमाणित गर्ने समय पनि आएको छ । बिमललाई बिश्वास गरेर क्लबमा लिएका छौं ।’ श्रेष्ठले भने ।
मछिन्द्रले यस सिजन समेत उपाधि रक्षालाई मुख्य लक्ष्य बनाएको क्लबका उपाध्यक्ष श्रेष्ठ बताउँछन् ।