काठमाडौं । बर्दियाको बाँसगढी नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको खेलमा पुतलीबजार नगरपालिकालाई १८-० गोल अन्तरले पराजित गर्दै बाँसगढीले दोस्रो जित निकालेको हो ।
बाँसगढीको जितमा अमिशा कार्की एक्लैले ९ गोल गरिन् ।
रेनुका हमालले ५ तथा दुर्गा कुमारी चौधरीले २ गोल गरिन् ।
सुस्मिता चौधरी र मनिका घर्ति मगरले एक एक गोल गरिन् ।

यस अघि पहिलो खेलमा बाँसगढीले भक्तपुर नगरपालिकालाई १२-० गोल अन्तरले हराएको थियो ।
प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई एन्फाले १० समूहमा विभाजन गरेको छ ।
प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् ।
यस्तै प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान २०/२० हजार पाउने छन् ।