काठमाडौं । चेल्सीका व्यवस्थापक थोमस टुचेलले अहिले स्वपनिल समय बिताइरहेका छन्, चेल्सीमा ।
उनी स्टानफोर्ड ब्रिजमा आएको पनि नौ महिना मात्र भएको छ र पनि अहिले उनी चेल्सी समर्थकमाझ खुबै लोकप्रिय छन् । यसअघिका फ्रायन्क लाम्पार्ड बर्खास्तीमा परेपछि उनी पश्चिम लन्डन क्लबमा आएका हुन् ।
टुचेल चेल्सी आउँदा चेल्सी इंग्लिस प्रिमियर लिगको नवौं स्थानमा थियो र एकै जितमै सीमित थियो । तर त्यसको चार महिनापछि चेल्सी युरोपेली च्याम्पियन्स लिगको विजेता बनेको थियो ।
चेल्सीमा टुचेलको प्रभावकै कारण यस्तो सम्भव भएको थियो । चेल्सीले युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता जितेको यो दोस्रो पल्ट मात्र थियो ।

त्यसपछि चेल्सी एफएकपको फाइनल त पुग्यो नै, प्रिमियर लिगको शीर्ष चारमा पनि रहन सफल रह्यो । हिजै मात्र हो, चेल्सीले नरविच सिटीमाथि ७–० को शानदार जित निकालेको ।
यो जितपछि चेल्सी लिग तालिकाको शीर्ष स्थानमा पनि रह्यो । तर यिनै प्रशिक्षक टुचेलको मनमा कहींकतै बार्सिलोना छ । ठ्याक्कै भन्दा उनको सपना हो, कुनै न कुनै समय बार्सिलोनामा आवद्ध हुने ।
उनले भर्खरै केही मिडियालाई दिएको अन्तर्वार्तामा आफ्नो लागि बार्सिलोना सपना भएको स्पष्ट बताएका छन् । खेलाडीका रूपमा उनले केही गर्न सकेनन, उनको खेल जीवन पनि लामो रहेन् । तर प्रशिक्षकका रूपमा उम्दा सावित भएका छन् ।
चेल्सीले अहिले यति धेरै राम्रो गरिरहेका बेला पनि टुचेलको मनमा बार्सिलोनाको मोह हुनु क्लब समर्थकका लागि खुसीको समाचार भने होइन् ।
–मिररको सहयोगमा ।