काठमाडौं । इटालियन सिरी ए फुटबलमा एसी मिलानले पुनरागमन गर्दै जित निकालेको छ ।
शनिबार राति भएको खेलमा मिलानले भेरोनालाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा दुई गोलले पछि परेपनि मिलानले उत्कृष्ट पुनरागमन गरेको थियो ।
खेलको सातौं मिनेटमा जियानलुका काप्ररीले गोल गर्दै भेरोनालाई अग्रता दिलाएका थिए ।
२४ औं मिनेटमा एन्टोन बारकले पेनाल्टीमा गोल गर्दै भेरोनालाई २-० को अग्रता दिलाए ।

तर, खेलको ५९ औं मिनेटमा ओलिभर जेरुडले गोल गर्दै मिलानलाई २-१ को स्थितिमा ल्याए ।
७६ औं मिनेटमा फ्रान्क केस्सीले पेनाल्टीमा गोल गर्दै मिलानलाई २-२ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको ७८ औं मिनेटमा भेरोनाका कोरे गुन्टरले आत्मघाती गोल गरेपछि मिलानले ३-२ को जित निकाल्यो ।

यस जितसँगै मिलान शीर्ष स्थानमा उक्लिएको छ ।
मिलानले ८ खेलमा २२ अंक जोडेको छ ।
भेरोना ८ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।