काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसिपको फाइनलमा नेपाली टोलीलाई अनुभवको कमी देखिएको बताएका छन् ।
माल्दिभ्सको मालेमा भएको फाइनलमा भारतसँग पराजित भएपछि प्रशिक्षक अल्मुताइरीले नेपाली टोलीलाई फाइनल खेलको अनुभव नभएको कारण हार व्यहोरेको बताएका हुन् ।
शनिबार राति भएको फाइनलमा भारतसँग ३-० ले पराजित हुँदै नेपाल पहिलो पटक साफको उपविजेता बनेको थियो ।
'हामीले आजको फाइनल हार्यो किनभने हामीसँग फाइनल खेलेको अनुभव थिएन । एक मिनेट भित्रै दुई गोल खानु भनेको निकै कठिन हुन्छ,' अल्मुताइरीले भने, 'तर, डिफेन्डर आउट भएपछि हामीले अट्याकिङ खेल्यौ । यदि पानी नपरेको भए रोहित चिप्लिने थिएन । यो खासै टूलो कुरा होइन ।'
प्रशिक्षक अल्मुताइरीले पछिल्लो ६ महिना आफ्नो लागि कठिन भएको बताए । उनले नेपाली जनताले दिएको माया भुल्न नसक्ने बताए।
'अब एक वा दुई हप्ताको आराम चाहन्छु । पछिल्लो ६ महिना मेरा लागि निकै कठिन थियो, मेरो परिवारको लागि पनि । आराम गर्न चाहन्छु र के राम्रो गर्न सकिन्छ भनेर सोच्न चाहन्छु,' उनले भने, 'नेपाली फुटबलको भविष्य राम्रो हुनुपर्छ । सरप्राइजिङ हुन सक्छ । म आफ्नो टिमका सबै सदस्यसहित सबै नेपालीलाई माया गर्छु । नेपाली जनतालाई के भन्न चाहन्छु भने उनीहरु शतप्रशित सुनिश्चित हुनुपर्छ कि नेपाललाई माया गरिरहने छु किनभने उनीहरुले मलाई सर्पोट गरे, माया गरे । यदि त्यहाँ कोही खराब मानिस छ भने सबैथोक खराब होइन । तर सबै भन्दा महत्वपूर्ण भनेको माया हो । नेपाली जनताले दिएको माया भुल्ने छैन । उनीहरुले सुरुको दिनबाटै मलाई सर्पोट गरेका छन् ।'

प्रशिक्षक अल्मुताइरीले फुटबल टिमलाई माया गर्न समेत आग्रह गरे ।
'सबैभन्दा महत्वपूर्ण भनेको १८ तारिखमा नेपाली फुटबल टोली बिहान एयरपोर्ट आउनेछ, र मेरो आग्रह नेपाली जनतासँग यो छ कि उनीहरुले सर्पोट गर्नुपर्छ । यदि नेपालले यही स्तरको खेल खेलेको हेर्न चाहन्छ भने उनीहरुले नेपाली टिमलाई माया देखाउनुपर्छ.' उनले भने ।
अल्मुताइरीले नेपाल आएपछि आफुले योजना अनुसार काम गरेको बताए ।
'मैले सुरुवातमै भनेको थिए मेरो तीनवटा लक्ष्य छ भनेर योजना अनुसार काम गर्नेछु भनेर र हामीले योजना अनुसार काम गर्यौ । सबैभन्दा ठूलो कुरा भनेको कडा परिश्रम गर्नुहो । प्रशिक्षकविना यो टोली राम्रो हुदैन तर जुनसुकै प्रशिक्षक नेपाल आए पनि र अल्छी गर्यो भने उसले हार्नेछ,' प्रशिक्षक अल्मुताइरीले भने ।

नेपाली टिमले पछिल्लो समय राम्रो गरिरहेको समेत प्रशिक्षक अल्मुताइरीले बताए ।
'मैले भनेको थिए नेपाल अट्याकिङ टिम हुनेछ, पछिल्लो १२ महिनामा हामीले कति गोल गर्यौ कसैले विश्लेषण गरेको छ ? अष्ट्रेलिया र जोर्डनविरुद्धको खेल बर्सियो भने नेपाली टोली अहिले राम्रो छ,' उनले थपे, 'खेलपछि सुनिल क्षेत्रीले पनि नेपाली टोली राम्रो रहेको बताएका थिए । कसैलेपनि खेलाडीको कुभलो गर्नु हुदैन् ।'
