काठमाडौं । १३ औं संस्करणको साफ च्याम्पियनसिपको उपाधिका लागि नेपालले भोलि (शनिबार) भारतसँग खेल्दैछ ।
मालेको माल्दिभ्स फुटबल स्टेडियममा हुने खेल नेपाली समय अनुसार पौने ९ बजे सुरु हुनेछ ।
भारत लिग चरणको विजेताको रुपमा फाइनल पुगेको हो भने नेपाल उपविजेता बन्दै उपाधि भिडन्त तय गरेकाे हाे ।
भारतले समुह चरणमा दुई जित र दुई बराबरीको नतिजा सहित ८ अंक बटुल्यो । नेपालले २ जित, एक बराबरी र एक हारको नतिजा सहित ७ अंक प्राप्त गर्यो ।
भारतले पहिलो खेलमा बंगलादेशसँग १–१ को बराबरीमा रोकिएको थियो भने श्रीलंकासँग गोल रहित बराबरी खेलेको थियो । नेपाललाई १–० ले र आयोजक तथा साविक विजेता माल्दिभ्सलाई ३–१ ले हराउँदै भारत फाइनल पुगेको हो ।
नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १–० ले र श्रीलंकालाई ३–२ ले हराउदै प्रतियोगिताको शानदार सुरुवात गरेको थियो । तेस्रो खेलमा भारतसँग १–० ले पराजित नेपालले अन्तिम खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेल्यो ।
समूह चरणको खेलमा भारतले नेपाललाई १–० ले हराएको थियो । भारतीय कप्तान सुनिल क्षेत्रीले भारतका लागि विजयी गोल गरेका थिए ।
दक्षिण एसियाली फुटबलका चिरप्रतिद्धन्दी नेपाल र भारत पहिलो पटक फाइनलमा भिड्न लागेका हुन् । नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुगेको हो भने भारत ७ पटकको च्याम्पियन टिम हो ।
नेपाली टिमका प्रशिक्षक किरण श्रेष्ठले ऐतिहासिक रुपमा फाइनल प्रवेश गरेको उल्लेख गर्दै प्राप्त अवसरलाई नगुमाउने बताए ।
'भोलि हाम्रो ठुलो खेल हो । सजिलो हुने छैन गार्हो हुन्छ । हामी तयार छौँ त्यसमा केन्द्रित छौँ ।' प्रशिक्षक श्रेष्ठले भने, 'एउटा संकल्पका साथ नतिजा निकाल्ने लक्ष्यसहित खेल्ने छौँ ।'
'भारतविरुद्ध पहिलेको खेलमा देखिएको गल्ती सुधार गरेर खेल्ने छौँ । पहिलो पटक फाइनल पुगेको छ । खेलाडीहरु खेलमा केन्द्रित छ । ओभर कन्फिडेन्स छैन ।' उनले भने।
भारतका प्रशिक्षक शानमुगम वेंकटेशले आफ्नो टिम पुरै आत्मविश्वासी र प्रेरित भएकाले उपाधिमा सकारात्मक रहेको बताए ।
उनले योजना अनुसारनै फाइनल सम्म पुगेको उल्लेख गर्दै बढी आत्मविश्वासी हुने गल्ती नगर्ने बताए ।
‘हामीले सुरुवातीको दुई खेलमा बराबरी खेल्यौं र गल्ती गर्यौ । टिमले पछिल्लो दुई खेलमा राम्रो गर्यो ।’ उनले भने, ‘हामी आत्मविश्वासी छौं । तर बढी आत्मविश्वासी हुने गल्ती गर्ने छैनौं ।’