काठमाडौं । भारतीय फुटबल टिमका सहायक प्रशिक्षक शानमुगम वेंकटेशले साफ च्याम्पियनसिपको फाइनलमा नेपालविरुद्धको खेल कठिन हुने बताएका छन् ।
साफको फाइनल अघि शुक्रबार प्रि-म्याच कन्फरेन्समा बोल्दै सहायक प्रशिक्षक वेंकटेशले नेपालविरुद्धको खेल कठिन हुने बताएका हुन् ।
'हामी फाइनल प्रवेश गरेकोमा असाध्यै खुसी छौँ । केवल एक खेल बाँकी छ र केटाहरु तयार तथा सकारात्मक छन्,' उनले भने, 'नेपालले समूह चरणमा नेपालले राम्रो नजिता निकालेको थियो । पुरै टिम कन्फिडेन्स छ र मोटिभेटेड छ । भोलीको खेल कठिन हुनेछ ।'
साफको फाइनलमा नेपाल र भारतबीच भोलि शनिबार प्रतिस्पर्धा हुनेछ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा हुने खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ ।
सहायक प्रशिक्षक वेंकटेशले सुरुवाती दुई खेलको गल्तिबाट पाठ सिकेको र फाइनलमा गल्ति नगर्ने बताए ।
'फाइनल पुगेको भएर दुबै टोली मोटिभेटेड छ । हाम्रा खेलाडीहरु पनि सकारात्मक छन् । हामी कन्फिडेन्ट छौ तर ओभरकन्फिडेन्ट छैनौँ,' उनले भने, 'हामी आफ्नो योजनामा अडिग रहनेछौ । भोली नयाँ खेल हुनेछ र हामी आफ्नो खेलमा ध्यान दिनेछौ । हामीले सुरुवातको दुई खेलमा बराबरी खेल्यौ गल्तीबाट सिक्यौ । र टोलीले पछिल्लो दुईवटा खेलमा राम्रो गर्यो ।'
भारतका मिडफिल्डर लालेन्ग्मिया राल्टेले साफ च्याम्पियनसिप जित्न सक्दो प्रयास गर्ने समेत बताए ।
'सुरुवातको दुई खेल बराबरी गर्दा गाह्रो भएको थियो । सबैजना निराश थिए । त्यसपछि हामीले आफ्नो गल्तीबाट सिक्यौ र हामीले के राम्रो गर्न सकिन्छ भनेर सिकिरहेका छौ । टिममा सबैजना खुसी छन् । र फाईनल खेल्नका लागि मोटिभेटेड छन् । हामीले यो च्याम्पियनसिप जित्नका लागि सक्दो प्रयास गर्नेछौ,' उनले भने ।