एजेन्सी । इङ्ल्याण्डका अन्तराष्ट्रिय खेलाडी रहिम स्टर्लिङ म्यानचेस्टर सिटी छाड्न तयार देखिएका छन् ।
उनले क्लबमा पर्याप्त खेल र समय नपाएको खण्डमा सिटी छाड्ने इच्छा ब्यक्त गरेका हुन् ।
स्टर्लिङको सिटीसँगको सम्झौता सन् २०२३ पछि सकिदैछ । उनले इङ्ल्याण्ड बाहिर खेल्ने आफ्नो इच्छा रहेको बताएका छन् ।
‘यदी कतै जानेको अवसर हुन्छ भने म यसका लागि तयार छु ।’ २६ वर्षिय खेलाडीले भनेका छन् ।
‘यो समयमा मेरा लागि फुटबल सबैभन्दा महत्वपुर्ण कुरा हो ।’ उनले थपे ।
‘मलाई सधै लाग्थ्यो, सायद एक दिन म विदेशमा खेल्नेछु र हेर्नेछु, त्यो चुनौतीलाई मैले कसरी पुरा गर्नेछु ।’ स्टर्लिङले भने ।
स्टर्लिङले नयाँ सिजनको सुरुवातदेखि मात्र एक खेलमा सुरुवाती सेटमा रहेर खेल्न पाएका छन् । च्याम्पियन्स लिगको समूह चरणको खेलमा पेरिस सेन्ट जर्मेन (विरुद्ध) उनले सुरुवाती सेटमा रहेर खेलको सुरुवात गरेका थिए । सो खेलमा सिटी पराजित बनेको थियो ।
इङ्ल्याण्डका ज्याक ग्रिलिस एस्टन भिल्लाबाट सय मिलियन पाउण्डमा सिटी आएपछि टिममा प्रतिस्पर्धा बढेको छ । फेरान टोरेस चोटका कारण कम्तिमा एक महिना मैदान बाहिर रहदाँ प्रशिक्षक पेप ग्वार्डिओलालाई विकल्प भने हुनेछ ।
स्टर्लिङ सन् २०१५ मा लिभरपुलबाट सिटी आएका थिए । उनले तीन प्रिमियर लिग र एफ ए कप र चार इपीएल कप जितेका छन् ।