काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका सहायक प्रशिक्षक किरण श्रेष्ठले साफ च्याम्पियनसिपको फाइनलमा भारतविरुद्ध खेल्न टिम तयार रहेको बताएका छन् ।
फाइनल अघि प्रि-म्याच कन्फरेन्समा बोल्दै सहायक प्रशिक्षक श्रेष्ठले भारतविरुद्धको महत्वपूर्ण खेलका लागि टिम तयार रहेको बताएका हुन् ।
सहायक प्रशिक्षक श्रेष्ठले भारतविरुद्ध जित निकाल्न एउटा संकल्प बोकेर मैदान उत्रने समेत बताए ।
'भोलि हाम्रो ठुलो खेल हो । सजिलो हुने छैन गार्हो हुन्छ । हामी तयार छौँ त्यसमा केन्द्रित छौँ,' प्रशिक्षक श्रेष्ठले भने, 'एउटा संकल्पका साथ नतिजा निकाल्ने लक्ष्यसहित खेल्ने छौँ ।'
साफ इतिहासमा पहिलो पटक फाइनल पुगेको नेपालले भोलि शनिबार भारतसँग प्रतिस्पर्धा गर्नेछ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले भारतको सामना गर्नेछ । खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ ।

सहायक प्रशिक्षक श्रेष्ठले नेपाली टोलि भारतविरुद्ध अघिल्ला खेलमा गरेको गल्तिलाई सुधार गरेर फाइनलमा मैदान उत्रने बताए ।
'भारतविरुद्ध पहिलेको खेलमा देखिएको गल्ती सुधार गरेर खेल्ने छौँ । पहिलो पटक फाइनल पुगेको छ । खेलाडीहरु खेलमा केन्द्रित छ । ओभर कन्फिडेन्स छैन,' उनले भने।
भारतविरुद्ध जित निकाल्न सबै पक्षमा बलियो रणनीतिका साथ मैदान उत्रने उनले बताए ।
'डिफेन्समा राम्रो डिफेन्स गर्ने, अट्याकमा अट्याक गर्ने, गोल स्कोर र पाएको मौकालाई सदुपयोग गर्ने तरिकाले खेल्ने छौँ,' सहायक प्रशिक्षक श्रेष्ठले थपे ।
यस्तै सहायक प्रशिक्षक श्रेष्ठले चोट बोकेका पुजन उपरकोटीले खेल्ने नखेल्ने बारेमा भने शनिबार नै थाहा हुने बताए । पुजनले बंगलादेशविरुद्धको खेलअघि वार्म अप गर्दा चोट बोकेका थिए ।
यस अघि लिग चरणमा भारतले नेपाललाई १-० ले हराएको थियो । नेपाल उक्त हारको बदला लिन चाहन्छ ।
भारत भने नेपालमाथि अर्को जित निकाल्न चाहन्छ ।
पाँच राष्ट्र सहभागी साफमा भारत शीर्ष स्थानमा रहदै फाइनल पुगेको हो ।
भारतले ४ खेलमा ८ अंक जोड्यो ।
नेपाल दोस्रो स्थानमा रहेर फाइनल खेल्न लागेको हो ।
नेपालले ४ खेलमा ७ अंक जोड्यो ।