काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बंगलादेशका गोलकिपरले रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि खेलमा परिवर्तन आएको बताएका छन् ।
माल्दिभ्सको मालेमा जारी साफ च्याम्पियनसिप अन्तर्गत बंगलादेशविरुद्ध बराबरी खेल्दै नेपाललाई फाइनलमा पुर्राएपछि प्रशिक्षक अल्मुताइरीले सो कुरा बताएका हुन्।
प्रशिक्षक अल्मुताइरीले यस नतिजाले आफुलाई संसारकै सबैभन्दा खुसी बनाएको बताए ।
'बंगलादेशको गोलकिपर बाहिरिनुले खेलमा परिवर्तन ल्यायो । कहिले काही तपाई भाग्यमानी हुनुहुन्न, कहिलेकाही तपाई भाग्यमानी बन्नुहुन्छ । आज हामी भाग्यमानी थियौं । यसले मलाई संसारकै सबैभन्दा खुसी बनाएको छ,' उनले खेलपछि भने ।

रोमान्चक बनेको खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेलेपछि नेपाल पहिलो पटक साफको फाइनलमा पुगेको हो ।
खेलको नवौं मिनेटमा सुमन रेजाले गोल गर्दै बंगलादेशलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ८८ औं मिनेटमा अन्जन विष्टले पेनाल्टीमा गोल गर्दै नेपाललाई हारबाट जोगाएका थिए ।
त्यसअघि खेलको ७९ औं मिनेटमा गोलकिपर अनिसुर रहमान जिकोले रातो कार्ड पाएपछि बंगलादेश १० खेलाडीमा समेटिएको थियो ।
पेनाल्टी बक्स क्षेत्रभन्दा बाहिर आएर बल क्लियर गर्ने क्रममा ह्याण्ड गरेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड दिएका थिए ।

यस्तै प्रशिक्षक अल्मुताइरीले मिडियाले प्रशिक्षकलाई सम्मान नगरेको बताए ।
'पछिल्लो तीन दिन धेरै खराब थियो । हामी हिजो अभ्यासमा थियौ र प्रिम्याच सम्मेलनमा सहायक कोच र एक खेलाडी आएका थिए र पत्रकारले यसलाई समाचार बनायो,' उनले भने, 'एउटा मिडियाले समाचार बनायो र मेरो खिल्ली उडायो । तपाईले कोचलाई सम्मान गर्नुपर्छ ।'
'हामी मानिस हौँ । हामी प्रशिक्षक हौँ दास होइनौं । हाम्रो पनि परिवार छ । हाम्रो बच्चा छ । म सो मिडियालाई सोध्न चाहन्छु तपाई खुसी हुनुहुन्छ कि कमेन्टमा म्याच फिक्सीङ कुरा आयो । के तपाई खुसी हुनुहुन्छ ? मेरो छोराले सोध्यो सो कमेन्ट के हो, यसको मतलब के हो ? के विज्ञापन ल्याएर पैसा कमाउन चाहनुहुन्छ । कृपया अरुको नाममा पैसा नकमाउनुहोस । म उसको नाम उल्लेख गर्दिन,' उनले थपे ।