पहिलो हाफमा नेपाल १-० ले पछाडी

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले अहिले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।
मालेस्थित राष्ट्रिय रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपालविरुद्ध बंगलादेशले १-० गोलको अग्रता बनाएको छ ।
खेलको नवौं मिनेटमा सुमन रिजाले गोल गर्दै बंगलादेशलाई सुरुआती अग्रता दिलाएका हुन् ।
कप्तान जमल भुयानको फ्रिकिकमा रिजाले उत्कृष्ट हेड मार्फत उत्कृष्ट गोल गरे ।
पहिलो हाफमा बल पोसेसनमा पकड बनाएको नेपालले केहि गोलको अवसर खेर फालेको थियो ।
राउउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गरिरहेको हो ।
नेपालको लागि यस खेल महत्वपूर्ण रहेको छ ।
नेपाल ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अब नेपाललाई फाइनल पुग्न मात्र एक अंकको आवश्यकता रहेको छ ।
नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनल यात्रा तय गर्न सकेको छैन । साफमा सेमिफाइनलसम्मको यात्रा नेपालको ठूलो उपलब्धि हो ।
नेपालले सुरुआती दुई खेलमा लगातार जित निकालेको थियो । माल्दिभ्सलाई १-० ले हराएको नेपालले श्रीलंकालाई ३-२ ले हराएको थियो । तर, नेपाल आइतबार भारतसँग १-० ले पराजित भएको थियो ।
बंगलादेश पनि नेपाललाई हराएर फाइनल पुग्न चाहन्छ । बंगलादेश ३ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।