काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले आज बुधबार बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले बंगलादेशको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल दिउँसो ४:४५ बजे सुरु हुनेछ ।
बंगलादेशविरुद्ध मैदान उत्रदा नेपाल ऐतिहासिक उपलब्धि प्राप्त गर्ने लक्ष्यमा हुनेछ । नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनल यात्रा तय गर्न सकेको छैन ।
तर, बंगलादेशविरुद्ध बराबरी वा जितको नतिजाले नेपाल पहिलो पटक साफको फाइनल पुग्नेछ । साफमा सेमिफाइनलसम्मको यात्रा नेपालको ठूलो उपलब्धि हो ।
हेड टु हेड कस्तो ?
बंगलादेशविरुद्धको ‘हेड टु हेड’ मा नेपाल निकै पछि रहेको छ ।
नेपाल र बंगलादेशबीच हालसम्म २३ पटक प्रतिस्पर्धा भएको छ । जसमा बंगलादेशले १३ खेल जितेको छ भने नेपालले ७ खेल मात्रै जितेको छ । ३ खेल बराबरीमा सकिएको छ ।
सन् १९८३ मा नेपालले बंगलादेशसँग पहिलो पटक खेलेको थियो । मर्डेका कपमा नेपाल बंगलादेशसँग १–० गोल अन्तरले पराजित भएको थियो ।
तर, साफ च्याम्पियनसिपको इतिहासमा भने नेपाल बलियो देखिएको छ ।
नेपालले साफमा बंगलादेशसँग ९ पटक खेलेको छ । जसमा नेपालले ४ जित निकाल्दा २ हार र ३ बराबरी खेलेको छ ।
पछिल्लो पटक नेपालले ढाका साफ च्याम्पियनसिपमा बंगलादेशलाई हराएको थियो । समूह चरणमा नेपालले बंगलादेशलाई २-० ले हराएको थियो ।
त्यस्तै नेपालले घरेलु मैदानमा आयोजना भएको थ्री नेसन्स कपमा बंगलादेशलाई हराएको थियो ।
दशरथ रंगशालामा भएको फाइनलमा नेपालले बंगलादेशलाई २-१ ले हराएको उपाधि जितेको थियो ।